४ बैशाख २०८१, मंगलबार

नेपालगञ्जमा ‘अक्सन’मार्फत क्रिकेट प्रतियोगिता हुने


cricket

८ चैत, नेपालगञ्ज । नेपालगञ्जमा पहिलो पटक ‘अक्सन’मार्फत क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

वैशाख ३ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमलाई सहभागी गराइने आयोजकले जनाएको छ । बुधबार नेपालगञ्जमा आयोजक ग्रीन इभेन्टो प्रालिले पत्रकार सम्मेलन गरी अक्सन मार्फत क्रिकेट टिमको छनोट हुने बताएको हो ।

‘स्वास्थ्य युवाका लागि, युवा राष्ट्रका लागि’ मूल नाराका साथ ‘नेपालगञ्ज कप क्रिकेट प्रतियोगिता टी–२०’ फम्र्याटमा हुने ग्रीन इभेन्टका प्रबन्ध निर्देशक मोहम्मद रफीले जानकारी दिनुभयो ।

अक्सनका लागि प्रदेश तथा अन्य ठाउँमा रहेका खेलाडीमध्येबाट छनोट समितिले प्रारम्भमा ९० खेलाडी छनोट गर्नेछ । उनीहरुबाट ६ टिम तयार गरिनेछ र खरिदका लागि व्यवस्था मिलाइनेछ । हरेक टिमको सुरुवाति मूल्य ५० हजार रुपैयाँ तोकिएको छ ।

प्रतिभावान क्रिकेटर उत्पादनको उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपालगञ्ज क्रिकेट कपका इभेन्ट डाइरेक्टर सौगातविक्रम शाहले बताउनुभयो । प्रतियोगितामा प्रदेश नम्बर ५ बाट ६० प्रतिशत र अन्य ठाउँबाट ४० प्रतिशत अनुपातमा खेलाडी सहभागी गराउन जोड दिइने जानकारी दिइएको छ ।

इभेन्ट डाइरेक्टर शाहले नेपालगञ्जका लागि यो नयाँ अभ्यास भएको बताउनुभयो । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्रीले परिकल्पना र अवधारणा यस ठाउँका लागि नौलो भएकाले खेलाडीलाई उत्साह जगाउने धारणा व्यक्त गर्नुभयो ।

प्रतियोगिताको कुल लागत २८ लाख ८५ हजार ७ सय ५० रुपैयाँ रहेको छ । विजेता टिमलाई एक लाख १० हजार, उपविजेतालाई ६० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । बाँके जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग रहेको यस प्रतियोगितामा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !