८ बैशाख २०८१, शनिबार

अबको लक्ष्य विश्वकप खेल्ने : पारस खडका


Paras Khadka

६ चैत, काठमाण्डौ  । आइसीसी विश्वकप छनोटमार्फत अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ ।

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले स्वागत गरेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एकदिवसीय मान्यताको उपलब्धि ऐतिहासिक भएको बताउँदै यसले क्रिकेट विकासका लागि आर्थिक सहयोग, खेलाडीको सुविधा लगायतमा सुधार हुने बताए ।

उनले अबको लक्ष्य अर्को विश्वकप खेल्ने र १०–१२ वर्षमा टेष्ट मान्यता दिलाउने गरी योजना बनाउनुपर्ने बताए । उनले भने, ‘यो विश्वकपमा छनोट हुन सकेनौं, हाम्रो लक्ष्य अर्को विश्वकप खेल्ने हो र आगामी १०÷१२ वर्षभित्रमा टेष्ट मान्यता पाउने गरी योजना बनाउनुपर्छ ।’
‘इतिहासकै सबैभन्दा ठूलो उपलब्धि पाएका छौं, नेपाली क्रिकेटलाई अर्को युगमा लानका लागि, यसले एउटा आधार खडा गरेको छ ।’ कप्तान पारसले भने ।

कप्तान पारसले क्रिकेटले हासिल गरेको यो उपलब्धि सबैका लागि खुसीको बाहाना भएको बताउँदै क्रिकेटको माध्यमबाट सबै देशवासीलाई खुसी तुल्याउन पाउँदा गर्व महशुस भएको बताए ।

उनले मैदान बाहिरको नराम्रो पक्ष सबै मिलेर सुधार गर्नुपर्ने भन्दै ब्यक्ति गन्दा क्रिकेटलाई केन्द्रमा राखेर काम गरिए सबै विवादहरुको समाधान सहज रहेको प्रतिक्रिया दिए ।

एकदिवसीय मान्यता प्राप्त टोलीको स्वागतका लागि नेपाली क्रिकेट समर्थक सोसाइटी लगायत सयौंको संख्यामा नेपाली समर्थकहरु विमानस्थल पुगेका थिए ।

विमानस्थलमा टोलीको स्वागत गर्दै समर्थकहरुले नेपाल क्रिकेट संघको विवाद समाधानका साथै एकदिवसीय मान्यता पाएको मुलुकमा एउटा पनि सुविधासम्पन्न रंगशाला नभएकोप्रति आक्रोश ब्यक्त गरेका थिए ।

समर्थकहरुले ‘ओडीआई स्टाटस पाइयो, रंगशाला चाहियो’, ‘टुँडिखेलमा खेलेर विश्वकपमा पुगिँदैन’, क्यान विवादको समाधान गर’, ‘मूलपानी रंगशाला छिटो सम्पन्न गर’ लगायतका नारा लगाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !