६ बैशाख २०८१, बिहिबार

भरतपुर १९ को घटना इतिहासकै दुर्भाग्यपूर्णः अध्यक्ष प्रचण्ड


prachanda

कार्तिक २७, चितवन | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका वडा नं १९ मा घटेको घटना इतिहासकै दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभएको छ । आइतबार साँझ पश्चिम चितवनको शारदानगरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहको निर्वाचनका बेला वडा नं १९ मा भएको घटनाबाट शिक्षा लिँदै दोहोरिन दिन नहुनेमा जोड दिनुभयो । “वडा नं १९ नेपालको चर्चाको विषय बन्यो, १९ नं वडामा जुन घटना घट्यो, त्यो इतिहासकै दुर्भाग्यपूर्ण घटना हो, त्यसबाट हामीले शिक्षा लिनुपर्छ”–दाहालले भन्नुभयो, “त्यस्ता घटना दोहोरिन दिनु हुन्न ।”

स्थानीय तहको निर्वाचनका बेला भरतपुर–१९ को मतगणनाका क्रममा गणनास्थल मै मतपत्र च्यातिएको थियो । त्यसपछि यहाँ पुनः मतदान भएको थियो । चार दिनदेखि चितवनमा चुनावी अभियानमा सक्रिय हुनुभएका दाहालले आइतबार चितवन निर्वाचन क्षेत्र नं ३ का विभिन्न १० ठाउँमा भएको चुनावीसभालाई सम्बोधन गर्नुभएको थियो ।

चुनावी सभालाई सम्बोधन गर्दै दाहालले नेपाली काँग्रेसलाई पनि विचार मिल्ने शक्तिहरुसँग गठबन्धन गरेर जान सुझाव समेत दिनुभयो । “देशका ठूला पार्टीहरु मिलेर अघि बढ्नुपर्छ, नेकपा (एमाले) र माओवादी केन्द्रको गठबन्धनबाट काँग्रेस आत्तिन जरुरी छैन, काँग्रेसले पनि विचार मिल्ने शक्तिहरुसँग एकता गर्नु राम्रो हुन्छ”– अध्यक्ष दाहालले भन्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले अबको युग समृद्धिको युग भएको बताउँदै त्यसका लागि स्थीर सरकार निर्माण गर्न आफू लागिपरेको उल्लेख गर्नुभयो ।

उहाँले आज भरतपुर महानगरका १५, १६ र १९ नं वडाको मंगलपुर, फूर्तिचोक, शरणपुर, शिवघाट, विजयनगर, शारदानगर, रामपुर, गुञ्जनगर, रानीपोखरीलगायत स्थानमा आयोजित सभालाई सम्बोधन गर्नुभएको थियो । सो क्रममा अध्यक्ष दाहाललाई मतदाताहरुले विकासमा लाग्न आग्रह गरेका थिए । दाहाललाई स्थानीयले फूलमालाले स्वागत गरेका थिए । स्थानीयहरुको गुनासोलाई सम्बोधन गर्दै दाहालले चितवनको पूर्वाधार विकासको अवस्था नजिकबाट नियालेको बताउँदै चितवनको विकासको नेतृत्व आफूले गर्ने बताउनुभयो । उहाँले चितवनबाट देशकै विकास गर्न यहाँ आएको उल्लेख समेत गर्नुभयो ।

NepalJapan.com


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !