८ बैशाख २०८१, शनिबार

नेपाल मलेसियामा श्रमिक पठाउने दोश्रो ठूलो देश


nepali-worker

कार्तिक २४, काठमाडौँ | नेपाली कामदारका लागि प्रमुख गन्तव्य रहंदै आएको नेपाल मलेसियाका लागि दोश्रो ठूलो श्रमिक स्रोत मुलुकका रुपमा रहेको छ । मलेसियामा सार्वजनिक गरिएको एक तथ्यांक अनुसार ३ लाख ८५ हजार तीनसय २० जना वैध नेपाली कामदारसहित नेपाल दोश्रो ठूलो श्रमिक स्रोत मुलुकका रुपमा देखिएको हो ।
करिब ५ लाखभन्दा बढी नेपालीहरु कार्यरत रहेको अनुमान गरिएको मलेसियामा अझै कयौं हजार नेपाली कामदार अवैध रुपमा कार्यरत रहेका छन् । मलेसियाका उत्पादन, निर्माण, सेवा र कृर्षि लगायत क्षेत्रमा नेपालीहरु कार्यरत छन् । यीमध्ये धेरैजसो उत्पादन निर्माण र सेवा क्षेत्रमा काम गर्छन् ।
केही अघिल्ला वर्षसम्म मलेसियालाई कामदार दिने संख्याका आधारमा बंगलादेश दोश्रो स्थानमा थियो भने नेपाल तेश्रो स्थानमा थियो । कामदार दिनेमा छिमेकी देश इण्डोनेसिया ७ लाख ७ हजार १ सय ८१ जनासहित पहिलो स्थानमा छ । मलेसियाका उप मानव संशाधनमन्त्री ईस्मायल अब्दुल मुत्तालिबले बुधबार प्रतिनिधि सभामा उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।
उक्त तथ्यांकअनुसार यहाँका विभिन्न रोजगारीका क्षेत्रमा वैध रुपमा कुल १७ लाख ३२ हजार ९ सय ४४ जना विदेशी कामदार कार्यरत रहेका छन् । मलेसियामा २ लाख २२ हजार आठसय ६८ बंगलादेशी, १ लाख २१ हजार ५० बर्मेली, १ लाख १३ हजार ६ सय २८ भारतीय, ५८ हजार नौसय ५७ पाकिस्तानी र ५५ हजार एकसय २० जना फिलीपिनो कामदारहरु वैध रुपमा कार्यरत छन् । त्यस्तै २६ हजार तीनसय ८७ भियतनामी, १७ हजार पाँचसय १६ चिनियाँ, १४ हजार छ सय ५० थाईल्याण्ड, पाँच हजार ६ सय १३ श्रीलंकाली, ४ हजार ६ सय २१ क्याम्बोडियाली, ३३ जना लाओतियन (लाओस) रहेका छन् ।
मलेसियालाई नेपालसहित विभिन्न १३ मुलुकले दक्ष, अर्धदक्ष र अदक्ष गरि विभिन्न श्रेणीका कामदार पठाउँदै आएका छन् तर तीमध्ये बहुसंख्यक साधारण कामदारहरु मलेसियाले लिंदै आएको छ ।
अघिल्लो वर्ष मलेसियाली मुद्रामा आएको गिरावटले नेपाली श्रमबजारमा सिथिलता देखिएपनि पछिल्लो समय खाडीका मुलुक खासगरी कतार र साउदीबीच उत्पन्न तनावपछि कयौं नेपाली मलेसिया आएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ को तुलनामा मलेसिया आउने नेपालीको संख्या यसवर्ष करिब १० प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष ०७३/७४ मा ९८ हजार ४ सय ३७ कामदार नयाँ श्रम स्वीकृति लिएर मलेसिया आएका छन् । – कान्तिपुर दैनिकबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !