८ बैशाख २०८१, शनिबार

एप्पल कम्पनीले अर्बौं डलर कर छलेको खुलासा


iphone-company

कात्तिक २१, वासिंटन । विश्वका शक्तिशाली र धनाढ्यहरुले लुकाएको सम्पत्तिको गोप्य खाताबारे सनसनीपूर्ण खुलासा गर्दै आएको प्याराडाइज पेपरले फेरि अर्को खुलासा गरेको छ ।विश्वको सबैभन्दा बढी मुनाफा कमाइरहेको एप्पल कम्पनीले अर्बौं डलर कर छल्न नयाँ गोप्य उपाय अपनाएको प्याराडाइज पेपरले देखाएको हो ।

चुहावट भएको वित्तीय दस्तावेजअनुसार अमेरिकी कम्पनी एप्पलले सन् २०१३ मा कर छलीका लागि ट्याक्स हेवन अर्थात् अफसोर कम्पनी रहेका देशमा लगानी गरेको खुलेको हो । एप्पलसँग कर नतिरिएको दुई सय ५२ बिलियन अमेरिकी डलर रहेको प्याराडाइज पेपर्सले देखाएको हो । एप्पलले भने आफ्नो नयाँ प्रणालीले आफूहरुको कर रकमलाई कम नगरेको दाबी गरेको छ ।
प्याराडाइज पेपर्सले सार्वजनिक गरेको दस्तावेजमा बेलायतकी महारानीको निजी सम्पत्तिको विवरण पनि परेपछि सनसनी भएको छ । प्याराडाइज पेपर्ससाग एक करोड ३४ लाख कागजात रहेको बताइएको छ । विश्वभरका एक सयभन्दा बढी सञ्चार संस्थानले यी कागजात सम्बन्धमा अनुसन्धान गरिरहेका छन् ।
गतवर्ष पानामा पेपर्स सार्वजनिक गरेको जर्मन पत्रिका ज्युड डायचे त्साइटुंगले यी कागजात प्राप्त गरेको थियो । यी दस्तावेजको जाँच इन्टरनेशनल कन्सोर्टियम अफ इन्वेस्टिगेटिभ जर्नालिस्ट्स् (आइसिआइजे)ले गरेको हो । (एजेन्सी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !