८ बैशाख २०८१, शनिबार

दुई कोरियाबीचका बैठकहरु ठप्प


Meet Kim and mun

 ७ जेठ, सोल । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन । गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ । 

दक्षिण कोरियाको सोलमा जारी रहेको सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फीरुपमा उक्त बैठक स्थगित गरेको थियो ।

उत्तर कोरियाले दक्षिण कोरियालाई सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास तत्कालै रोक्न विगतदेखि नै आग्रह गरिरहेको छ । तर सो सैन्य अभ्यास जारी रहेको छ ।

यही मे १६ मा दक्षिण कोरियामा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो बैठक अकस्मात स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको थियो ।

त्यसपछि अर्काे बैठकका बारेमा केही निर्णय भएको छैन र आजसम्म सो बैठकको अर्काे मिति पनि तोएिको छैन ।

यही मे २५ सम्म जारी रहने जनाइएको सो सैन्य अभ्यास दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो भएको समाचार पनि आएको थियो । यसको उत्तर कोरियाले त्यसको विरोध गर्दै आएको छ ।

दुई कोरियाबीच गएको अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक बसेको र त्यसपछि शान्ति सम्झौता भएको थियो । उक्त शान्ति सम्झौतापछि यी दुई कोरियाबीच विभिन्न समयमा उच्चस्तरका बैठकहरु बस्दै आएका थिए ।

तर सोही सैनिक अभ्यासको निहुँ पारेर उत्तर कोरियाले कुनै पनि बैठकको अगुवाइ गरेको छैन । दुई कोरियाबीच प्रायः हुने गरेका द्विपक्षीय बैठकहरु पनि ठप्प भएका छन् ।

उता त्यतिमात्र नभएर उक्त सैन्य अभ्यासको अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी समेत उत्तर कोरियाले दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ ।

उक्त बैठक अगावै उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीचक बुधबार बैठक हुने भनिएको थियो । तर सो बैठक उत्तर कोरियाका कारण हुनसकेको छैन ।

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच गत अप्रिल २७ मा भएको ऐतिहासिक शान्ति सम्झौताको आफूहरुले पालना गरेको तर दक्षिण कोरियाका तर्फबाट भने यसको पालना नभएको उत्तरको भनाइ छ ।  (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !