४ बैशाख २०८१, मंगलबार

फाइभ–जी नेटवर्कमा अमेरिकालाई चीनले उछिन्यो


5G china

एजेन्सी, ५ वैशाख । फोर–जी पछि सबैभन्दा पहिले फाइभ–जी नेटवर्क निर्माण गर्ने विश्वव्यापी प्रतिस्पर्धामा यसअघि अमेरिकाको नाम लिइएको भएपनि अहिले भने अमेरिकालाई पछि पार्दै चीन अघि बढिसकेको सीएनएनले जनाएको छ ।

सञ्चार सम्बन्धी अनुसन्धान गर्ने फर्महरुले सुरु गरेको सर्वेक्षणमा यसबारे जानकारी दिइएको समाचारमा जनाइएको छ ।

आउँदो युगको सर्वाधिक छिटो वायरलेस प्रविधि, फाइभ–जी लन्च गर्नलाई सबैभन्दा तयार अवस्थामा अहिले चीन रहेको बताइएको छ । त्यसैगरी यसमा दक्षिण कोरिया दोस्रो स्थानमा र त्यसपछि मात्र अमेरिकाले पहिले लन्च गर्न सक्ने सम्भावना रहेको बताइएको छ ।

विश्वभरका प्राविधिक विज्ञहरु आउँदो फाइभ–जी टेक्नोलोजिका लागि धेरै उत्साहित रहँदै आएका छन् । यो टेक्नोलोजीको निर्माण सम्पन्न भएपछि आफैँ चल्न सक्ने अटोमेटिक गाडी, भर्चुअल रियालिटी र स्मार्ट सिटी जस्ता क्षेत्रमा तीव्र विकास हुने बताइन्छ जसले विश्वलाई आधुनिकताको नयाँ युगमा प्रवेश गराउनेछ । त्यसैले पनि यसलाई सर्वप्रथम निर्माण गर्ने कम्पनीलाई विश्वव्यापी लगानी र अन्य थुप्रै लाभकारी पक्ष प्राप्त हुने भएकाले ठुल्ठुला मुलुकहरुबीच धेरै प्रतिस्पर्धा भइरहेको पाइन्छ ।
यसअघि अमेरिकी वायरलेस प्रविधिको उद्योगले फाइभ–जी निर्माणका लागि दुई खर्ब भन्दा बढी लगानी गर्ने तयारी गरिरहेको र यसपटक चीनलाई हराउने लक्ष्यसाथ अघि बढ्ने बताएको थियो ।

यसले मुलुकभरमा तीस लाख भन्दा बढी रोजगारीको अवसर सिर्जना गराउने र देशमा आर्थिक सम्पन्नता कायम राख्ने अपेक्षा गरिएको छ ।

तर अहिले चीनको तयारी अमेरिका भन्दा धेरै अघि बढिरहेकाले, अमेरिका फेरि पनि पछि पर्ने सम्भावना रहेको बताइएको छ । चीनले आगामी २०२० सम्ममा फाइभ–जी निर्माण गरिसक्ने योजना बनाएको छ र सरकारको तर्फबाट समेत पूर्ण सहयोग पाउने निश्चित भएकाले छिटै काम सुरु गर्न सहज भएको बताइएको छ ।

चीनमा औद्योगिक क्षेत्र र सरकारका बीच राम्रो सहकारिता भएकाले पनि रिसर्चको काममा कुनै अवरोध नभएको बताइन्छ ।

अर्कोतर्फ दक्षिण कोरियाले यस वर्षको शीतकालिन ओलम्पिकमा नै प्रविधिको धेरै प्रचार गरिसकेकाले लगानीकर्ताको कमी नहुन हुँदा रिसर्चसँग सम्बन्धी काम थाल्न धेरै समय नलाग्ने बताइएको छ ।
उता अमेरिकी कम्पनीहरुले भने यसवर्षको अन्त्यदेखि मात्र काम सुरु गर्ने बताएका छन् ।  यसको निर्माणमा फ्रिक्वेन्सी जस्ता विभिन्न प्राविधिक पक्षमा सरकारको सहयोग पनि उत्तिकै आवश्यक पर्ने भएकाले नै अमेरिका पछि पर्न सक्ने सम्भावना रहेको बताइन्छ ।

पछिल्लो महिना मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाको जोखिमलाई मध्य नजर राख्दै ब्रोडकमको १ खर्ब भन्दा बढी लगानी योजना रद्द गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !