७ बैशाख २०८१, शुक्रबार

गृहमन्त्री थापासँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता


Ram Bahadur Thapa And Japanese ambassador

७ चैत, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले मंगलबार शिष्टाचार भेटवार्ता गर्नुभयो ।

गृह मन्त्रालयमा भएको सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपाल र जापानबीच ६२ वर्षदेखि कूटनीतिक सम्बन्ध स्थापना भएको चर्चा गर्दै यो सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायका लागिसमेत जापानले गर्दै आएको सहयोगप्रति राजदूत ओगावामार्फत जापान सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास व्यक्त गर्नुभयो ।

जापानले तीव्रतर रुपमा गरिरहेको विकास लोभलाग्दो रहेको बताउँदै नेपालले पनि जापानबाट विकासको ढाँचा सिक्न चाहेको गृहमन्त्रीले बताउनुभयो । अहिले दुई तिहाइको समर्थनसहित नेपालमा सरकार बनेको तथा मुलुक राजनीतिक स्थिरतातर्फ अग्रसर भएको भन्दै गृहमन्त्री थापाले नेपालमा लगानी गर्न अहिले उपयुक्त अवसर रहेको बताउनुभएको थियो ।

राजदूत ओगावाले नेपाल र जापानबीचको सम्बन्धको चर्चा गर्दै यो सम्बन्ध जनस्तरमा समेत प्रगाढ रहेको बताउनुभयो । नेपालमा जापानी लगानीकर्तालाई लगानीका लागि आग्रह गर्दै आफूले सिंगापुर र थाइल्याण्डमा रहेका जापानी व्यवसायीलाई केही समयअघि नेपाल बोलाएर छलफल गरेको राजदूतले जानकारी दिनुभयो ।

उहाँले अहिलेसम्म नेपालमा जापानी व्यवसायीले सानो लगानी मात्रै गरेको जानकारी दिँदै ठूलो लगानीबारे छलफल गर्न जापानी कम्पनी अहिले दूतावासको सम्पर्कमा आएको जानकारी दिनुभयो । नेपालमा बर्षेनी करिब २० हजार जापानी पर्यटक आउने गरेको जानकारी दिँदै उहाँले उनीहरुलाई नेपालले दिएको सुरक्षाप्रति सन्तुष्टि व्यक्त गर्नुभयो ।

सो क्रममा नेपालस्थित जापानी सहयोग नियोग (जाइका)का प्रमुखले नेपालमा जाइकाले भूकम्पपछिको पुनःनिर्माण, मेलम्ची खानेपानी आयोजना, पोखरा खानेपानी आयोजना र नागढुंगा सुरुङमार्गलगायतमा सहयोग गरिरहेको बारे गृहमन्त्री थापालाई जानकारी गराउनुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !