७ बैशाख २०८१, शुक्रबार

बंगलादेशमा म्यानमारका साढे दुई लाख शरणार्थी, भाग्ने क्रममा ६० जनाको मृत्यु


भदौ २३, काठमाडौँ  । पछिल्ला केही दिनयता म्यानमारबाट भागेर बंगलादेश पुग्ने म्यानमाली शरणार्थीको संख्या साढे दुई लाख पुगेको छ । बिहीबारसम्म संयुक्त राष्ट्रसंघले दिएको जानकारीअुनसार म्यानमारबाट भागेर बंगलादेश पुगेका रोहिंग्या मुस्लिम शरणार्थीको संख्या साढे दुई लाख पुगेको छ । म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण उनीहरु देश छोडेर भागेको जनाएका छन् ।

म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाको कारण शरणार्थीको रुपमा त्यस समुदायका ती व्यक्ति बंगलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ । छिमेकमा पर्ने यस देशमा म्यानमाली नागरिक जाने क्रम जारी छ । म्यानमारको अल्पसंख्यक हजारौँ रोहिंग्या मुस्लिम पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण बंगलादेश छिर्ने सीमामा बसेका छन् । गत हप्तामात्र राष्ट्रसंघले दिएको जानकारीअनुसार बंगलादेशमा कम्तीमा पनि १ लाख ६४ हजार शरणार्थी पुगेका थिए । उक्त संख्या बढेर बिहीबार साढे दुई लाख पुगेको हो ।

म्यानमारको पश्चिमी राज्य राखिन र बंगलादेशको सीमा क्षेत्रमा पर्ने स्थानमा अधिकांश रोहिंग्या मुस्लिम समूदायका व्यक्ति बंगलादेश छिर्नको लागि पर्खेर बसेका छन् । उनीहरु दिनहूँ त्यसतर्फ जाने गरेका छन् । यो संख्या प्रतिदिन बढ्दोमात्रामा रहेको संयुक्त राष्ट्रसंघद्धारा जारी प्रतिवेदनमा जनाइएको छ । संयुक्त राष्ट्रसंघले यो जानकारी दिएको भए पनि बंगलादेशी अधिकारीहरुले भने त्यो संख्या अझै धेरै हुनसक्ने बताएका छन् ।

यता, म्यानमाली सरकारले भने रोहिंग्या मुस्लिम समुदायमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गरेको छ । गत पाँच बर्षयता म्यानमारको राखिन राज्यमा जाती र धर्मका कारण हिंसा अत्यन्तै भड्किदै गएको छ । राष्ट्रसंघका अनुसार म्यानमारको रोहिंग्या राज्यमा सुरु भएको हिंसापछि बंगलादेश भागेर जाने क्रममा नाफ सीमा नदी पार गर्दा बगाएर सयौँ व्यक्तिको मृत्यु भइसकेको छ । म्यानमारबाट भागेर आएका व्यक्तिले शरणार्थी शिवीर भरिएको हुनाले स्थानीय व्यक्तिहरुले समेत शरणार्थीलाई सहयोग गर्ने गरेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

म्यानमारको राखिन राज्यमा सन् २०१२ बाट सुरु भएको धार्मिक हिंसाको कारण सयौं रोहिंग्या मुस्लिमहरुको मृत्यु भएको छ भने लाखौंको संख्या विस्थापित भएर स्वदेश तथा विदेशमा शरणार्थीका रुपमा रहेका बताइन्छ ।

यसैबीच, यो पछिल्लोपटक भएको भागदौडका क्रममा परेर कम्तीमा पनि ६० जनाको ज्यान गएको छ । उनीहरुको म्यानमारबाट भागेर बंगलादेश जाने क्रममा डुंगा डुबेर मृत्यु भएको हो । बंगलादेशका सीमा सुरक्षा गार्डले दिएको जानकारीअनुसार ती शरणार्थीले नदी तर्ने क्रममा माछामार्ने डुंगा प्रयोग गर्ने गरेका र यस्तो डुंगा डुबेर उनीहरुको ज्यान जाने गरेको छ ।

त्यस क्षेत्रमा सुरक्षाको राम्रो व्यवस्था गरिएको भनी बंगलादेशको सीमा सुरक्षा बलले बताएको भए पनि त्यसो हुन सकिरहेको छैन ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !