७ बैशाख २०८१, शुक्रबार

अर्द्धसैनिक र प्रहरीको ५० टिम सामेलमा बलात्कारी बाबाको दरबारमा छापा


भदौ २३, काठमाडौँ । भारतमा बलात्कारमा संलग्न कथित बाबा राम रहिमको आश्रममा सुरक्षा टोलीले छापा मारेको छ । शुक्रबार बिहान सुरक्षाकर्मीको ५० टिम प्रवेश गरी छापा मार्न थालेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

सुरक्षाकर्मीको एक टिममा ६० सदस्य रहेको बताइएको छ । छापा मार्न गएको टिममा बैंकका एक सय कर्मचारी, ताला फुटाउनका लागि २२ जना लोहारसहितको टोली खटिएको छ । हरियाणाको सिरसास्थित ती बाबाको विशाल दरबारमा अलग अलग स्थानमा अलग अलग टोलीले छापा मार्नेछ । विशाल दायरामा रहेको उक्त दरबारमा कतै खन्नु वा भारी चीज उठाउनु परेमा डोजर तथा क्रेनको सहायता आवश्यक पर्ने भन्दै सुरक्षा टोलीले त्यस्ता यन्त्र तथा उपकरण पनि लिएर गएको छ ।

छापा मार्ने क्रममा सबै घटनाक्रमलाई भिडियोमा रेकर्ड गर्ने व्यवस्था गरिएको छ । सहरमा सुरक्षा व्यवस्थालाई कडा तुल्याउनुका साथै कर्फ्यु समेत लगाइएको छ । कथित बाबाका अनुयायीले विरोध प्रदर्शन गर्ने सम्भावनालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बाबाको दरबार आसपास मिडियालाई जानसमेत रोक लगाइएको छ ।

आफ्नो आश्रममा आएका महिलालाई यौन शोषण गरेको आरोपमा उनलाई हालै अदालतले कैद सजाय तोकेको छ । दुई अलग घटनामा उनलाई १०÷१० वर्ष गरी जम्मा २० वर्ष जेल सजाय तोकिएको हो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !