६ बैशाख २०८१, बिहिबार

चट्याङवाट हुने जोखिम न्यूनीकरणका लागि खोटाङका ३५ घरमा अर्थिङ


चट्याङ

८ जेठ, खोटाङ । चट्याङवाट हुने जोखिम न्यूनीकरणका लागि खोटाङको नुनथला र खिल्कुका बासिन्दाको घरमा अर्थिङ गरिएको छ ।

हरेक वर्ष चट्याङले जनधनको क्षति गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरे र सोही नगरपालिकाको वडा नं १४ खिल्कुका ३५ घरमा अर्थिङ गरिएको हो ।

हरेक वर्ष पर्ने चट्याङले मानिसको ज्यानसमेत लिएकाले स्थानीय महुरे प्राकृतिक सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा प्रत्येक घरमा अर्थिङ गरिएको जालपा मावि नुनथलाका शिक्षक हेमविक्रम राईले बताउनुभयो । “चट्याङले हरेक वर्ष हाम्रो गाउँमा एक–दुईजनाको ज्यान लिने गरेको छ ।” उहाँले भन्नुभयो, “त्यो अनपेक्षित रुपमा हुने क्षति न्यूनीकरण गर्ने प्रयासस्वरुप हामीले प्रत्येक घरमा अर्थिङ गरेका हौँ ।”

वर्षा शुरु भएसँगै गाउँमा अर्थिङ गरिएका घरका बासिन्दा भयरहित वातावरणमा बस्न पाएका छन् । चट्याङका कारण हरेक वर्ष मानवीय तथा भौतिक क्षति हुँदै आए पनि जिल्लामा पहिलोपल्ट महुरे र खिल्कुमा सिंगो गाउँमा अर्थिङ गरिएको हो ।

सामुदायिक वनको रकमले अर्थिङका उपकरण खरिद गरेर ल्याएको र नून, कोइलालगायतका स्थानीय सामग्री भने घरधनीले नै व्यवस्था गरेको शिक्षक राईले बताउनुभयो ।

जिल्लामा हरेक वर्ष चट्याङका कारण भौतिक र मानवीय क्षति हुने गरेको छ । विज्ञका अनुसार चट्याङबाट बच्न अर्थिङ उत्तम उपाय हो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !