८ बैशाख २०८१, शनिबार

दुई लाख चालक स्मार्ट लाइसेन्सको प्रतीक्षामा, नवीकरणका लागि १० महिना कुर्नु पर्ने


licence

११ मंसिर, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा सरकारको चरम लापरवाही देखिएको छ । विभागमा लाइसेन्सको यतिसम्म अभाव चर्किएको छ कि सेवाग्राहीले ट्रायल दिएको र नवीकरणका लागि आवेदन पेश गरेको १० महिनासम्म हात पार्न मुस्किल पर्छ । विभागसँग अहिले १५ हजार स्मार्ट लाइसेन्स छाप्ने कार्ड मात्र बाँकी छन् । तर, लाइसेन्स लिने प्रक्रिया पूरा गरेर प्रतीक्षामा रहेका सेवाग्रही दुई लाख नाघेका छन् ।

दैनिक पाँच हजार सेवाग्राहीले लाइसेन्सको प्रक्रिया पूरा गर्छन् । तर, विभागले दिनमा मुस्किलले पाँच सय वटा कार्ड छाप्छ । एक त विभागसँग पर्याप्त कार्ड ‘स्टक’ छैनन्, छाप्ने मेसिन पनि गतिला छैनन् । कार्ड छाप्ने चारमध्ये तीन वटा मेसिनले मात्रै जेनतेन काम गरिरहेको विभागका एक अधिकारी बताउँछन् । एउटा मेसिन बिग्रिएर बसेको छ ।

स्मार्ट लाइसेन्स वितरण शुरु भएको केही समयमै अभाव चर्किएको थियो । नियमित मागअनुसार आपूर्ति गर्न समयमै टेन्डर नगर्दा अहिले दुई लाख सेवाग्राही सबै प्रक्रिया पूरा गरेर पनि कार्ड लिन नपाएर समस्यामा छन् । ट्रायल उत्तिर्ण गरेको नौ महिनामा एकान्तकुनास्थित यातायात कार्यालयबाट स्मार्ट लाइसेन्स बुझेका हेटौंडाका जीवन लामा भन्छन्, ‘यो बेथितिको पराकाष्ठा हो । नागरिकले एक दिनमै पाउनुपर्ने सुविधा हो यो । अनेक बहाना बनाएर नौ महिनासम्म कुराउनु अपराध हो ।’

लाइसेन्स हात नपर्दा पाएको जागिर पनि छाड्नुपरेको छ, लामाले । विभागले देशभरका कार्यालयबाट स्मार्ट लाइसेन्स वितरण थालेको छ । ती सबैको छपाइ भने काठमाडौं मीनभवनस्थित केन्द्रीय कार्यालयमै हुन्छ ।

क्षमता विस्तार नगर्दा नयाँ लाइसेन्स लिने र पूरानो नवीकरण गर्नेहरुलाई विभागले ‘६ महिनापछि लिन आउनू’ भन्ने गरेको छ । तर, ६ महिनामा आउने सेवाग्राहीलाई थप तीन महिनाको भाका सार्ने गरिएको विभागका अधिकारी स्वीकार्छन् । पहुँच भएकाहरुले ‘सोर्स’ लगाएरै पनि छिटो लाइसेन्स बुझ्ने गर्छन् । सर्वसाधारणलाई भने लाइसेन्स समयमै पुर्‍याउन विभागले बेवास्ता गर्दै आएको छ ।

विभागका महानिर्देशक रुपनारायण भट्टराई भने एकैपटक सात लाख ५० हजार स्मार्ट लाइसेन्स आपूर्ति गर्ने ठेक्का लागेकाले अभाव विस्तारै साम्य हुने बताउँछन् । उनले केही हप्तामा नै थप एक लाख कार्ड एडीबीको सहयोगमा आइपुग्ने अवस्थामा रहेको बताए ।

‘अब एक लाख कार्ड तत्कालै आउँछ । त्यसपछि टेन्डरअनुसार मद्रास सेक्युरेटी प्रिन्टर्सले कार्ड दिन्छ,’ भट्टराईले भने ।

अनलाइनखबर बाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !