७ बैशाख २०८१, शुक्रबार

हिन्दू राष्ट्र विना लोकतन्त्र बलियो हुदैन – मन्त्री गिरी   


मंसीर ३, काठमाडौँ । देउवा नेतृत्वको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दिलनाथ गिरीले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ । गिरी राप्रपामा बौद्धिक र क्षमतावान नेताको रूपमा चिनिनुहुन्छ । उहाँ पहिला राप्रपा नेपाल संसदीय दलको प्रमुख सचेतक हुनुहुन्थ्यो भने राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि गिरी पुनः राप्रपाको  प्रमुख सचेतक बन्नुभएको थियो ।  नेपालमा लोकतन्त्रलाई बलियो बनाउन संबैधानिक राजतन्त्र र हिन्दू राष्ट्र हुनु अत्यन्तै आवश्यक छ भन्ने  धारणा  राख्दै आउनु भएको छ । उहाँ पहिला छोटो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पनि हुनुभयो । अहिले सहरी विकास मन्त्री भई सकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र र मन्त्रालयका भावी योजनाको सम्बन्धमा केन्द्रित रहेर नेपालपत्रका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी  ।

१. सहरी विकास मन्त्रीका रूपमा आमजनताका मन्त्रालय अन्तर्गतका जनसरोकारका अपेक्षालाई तपाईं कसरी सम्बोधन गर्नुहुन्छ ?

धन्यवाद ! यहाँले अत्यन्तै सान्दर्भिक र महत्वपुर्ण प्रश्न गर्नु भएको छ । बिशेष गरेर शहरी विकास मन्त्रालयको जिम्म्मेवारी र दायित्व भनेको मुलुकमा कस्तो किसिमका शहरहरु हुनुपर्छ र त्यसका आधारभूत आवश्यकताहरु के के हुनुपर्छ, कस्तो मापदण्ड भएको शहर अन्तर्राष्ट्रिय स्तरको हुन्छ र त्यसमा बसोवास गर्ने नागरिकको सहभागिता र सोच कस्तो हुनुपर्छ भन्ने कुराहरुको निर्धारण गरेर त्यस अनुसारको काम गर्नु हो । यी सवै कुरालाई केन्द्रविन्दुमा राखेर अहिले आधुनिकिकरण गर्दै नयाँ शहरको विकास गर्ने क्रममा लागेका छौ र शहरी विकास मन्त्रालयले बनाउने शहरहरु आधारभूत रुपमा सवै कुरामा सुसम्पन्न शहरको कल्पना गरेको छ । जहाँ कुनै पनि प्रकारको समस्या नरहोस् र अन्तर्राष्ट्रिय दृष्टिकोणले हेर्दा पनि यो अत्यन्तै सुन्दर, सफा, शान्त र आकर्षक र बस्न लायक होस् जुन नेपालको मौलिकतामा आधारित शहर होस् भन्ने सोचका साथ मन्त्रालय लागेको छ ।

२. सहरी विकास मन्त्रालय र तपाईका भावी योजनाहरु के के छन् ?

अव बिशेष रुपमा रहेको १३/१४ बर्षदेखि अधकल्चो रुपमा रहेको बाहिरी चक्रपथको विषयलाई लिएर बिभिन्न कोणवाट चर्चा र परिचर्चा भएको छ यो एउटा प्रचारको निमित्व मात्र हो कि साच्चै कार्यन्वयन हुने हो की भनी जिज्ञासा  आमजनतामा रहेको थियो त्यो कुरालाई अन्त्य गर्नको लागि हामीले अस्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरेर चाडो भन्दा चाडो चुनावपछि यसलाई कार्यन्वयनमा ल्याउछौं भनेर हामीले प्रष्ट पारी सकेका छौ । बाहिरी चक्रपथको ६.६ कि. मी.को सवै प्रक्रिया पुरा गरि सकेका छौ । त्यस्तै १३ वटा स्मार्ट सिटी, ४ वटा सेटिलाईट सिटी र मेगा सिटी बनाउने काम पनि तीव्रताका साथ अगाडी बढाएका छौ । त्यस्तै मन्त्रालयले बनाएको मापदण्ड अनुसार अत्यन्तै पिछडिएका दलित र जनजातिको उत्थानको लागि जनता आवास कार्यक्रम पनि ७५ वटै जिल्लामा अगाडी बढाएका छौ । तल्लो स्तरका अत्यन्तै आर्थिक अवस्था कम्मजोर भएका गरीव र दलितको उत्थानको लागि हामीले घर निर्माण गर्न साढे ३ लाखसम्म एउटा घरको लागि आर्थिक सहयोग गर्नेछौ । त्यस्तै सडकलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुरुप बनाउने, सुन्दर र सफा राख्ने काम अघि बढाउने छौ । यातायातको पहुच पुर्याउन विभिन्न शहरमा बग्ने नदीको वरिपरीका कोरिडर सडक विकास गर्दैछौ । काठमाडौँ उपत्यकाको ट्राफिक ब्यबस्थापनलाई सहज बनाउन बाहिरी चक्रपथको काम अघि बढाउदै छौ । ७ वटै प्रदेशमा प्रदेशको राजधानी र प्रदेश प्रमुखको भवन निर्माण गर्ने काम पनि अघि बढाउदै छौ । काठमाडौँ उपत्यका भित्रका विभिन्न पुरातात्विक तथा ऐतिहासिक भवनहरुको पुनः निर्माण गर्ने काम पनि अघि बढाउदै छौ  ।

३. राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दू राष्ट्र फर्काउने संकल्प सहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । के यो सम्भव छ त ?

यो असम्भव कुरा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेकै छैन । जुन कुरा सम्भव छ त्यो कुरा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको छ । जुन कुरा तपाईले महत्वपुर्ण कुरा उठाउनु भयो । संबैधानिक राजतन्त्र र हिन्दू राष्ट्र भन्ने बितिकै त्यो भन्दा अगाडी हामी अहिलेका दलहरुले सवैले अघि सरेको पहिलो कुरा के भने प्रजातन्त्र बलियो बनाउनुपर्छ भन्ने हो । प्रजातन्त्रको बिकल्प अरु कुनै नभई प्रजातन्त्र नै हो तर पनि हामीले प्रजातन्त्रलाई बलियो बनाउन सकेका छैनौ । हाम्रो नेपालमा प्रजातन्त्रको उदगम भनेको हिन्दुत्व नै हो । हिन्दुत्वको मूल्य र मान्यता भनेको अनादिकालदेखि नै सवैसंग मिल्ने, सवैलाई प्रेम गर्ने, सवैसंग सदभावना राख्ने र सवैलाई परोपकार गर्ने, सवैलाई एकता गर्ने मूल मन्त्र हो । हिन्दुत्व नौ प्रजातन्त्रको अभिन्न अंग हो । बेदमा उल्लेख भए अनुसार हिन्दुत्ववाट मात्र प्रजातन्त्रलाई पूर्ण र बलियो बनाउन सकिन्छ । अहिले हामीले हिन्दुत्वलाई निषेध गरेर प्रजातन्त्रलाई बलियो बनाउन खोज्नु भनेको दिवा सपना देख्नु जस्तै मात्र हो । हाम्रो पार्टीको पहिलो मान्यता के हो भने प्रजातन्त्र र हिन्दुत्व संगसंगै आउने एकअर्काका परिपूरक हुन् । हाम्रो पार्टीको अर्को एजेण्डा के हो भने संबैधानिक राजतन्त्र हो । पृथ्वीनारायण शाहले विभिन्न टुक्रा-टुक्रामा रहेको  राज्यलाई एकिकरण गरेर एउटा सिंगो नेपालको निर्माण गरे र नेपालभित्र बस्ने सवै जनजाति र धर्मावलम्बीहरुले आफु नेपाली हु भनेर गर्व गर्नसक्ने भए । आजसम्म हामी नेपाली भनेर गर्व गर्नसक्ने पहिचान राजतन्त्रले गर्दा भएकोले गर्दा त्यसलाई अलग गरेर यो मुलुक प्रजातान्त्रिक बन्न सक्दैन । राजतन्त्र बिना यो मुलुकले आफ्नो पहिचान जोगाउन सक्दैन । प्रजातन्त्रलाई बलियो बनाउन संबैधानिक राजतन्त्र र हिन्दू राष्ट्र हुनु अत्यन्तै आवश्यक छ । आजकल प्रजातन्त्रलाई लोकतन्त्र भन्ने गरिन्छ । संबैधानिक राजतन्त्र र हिन्दू राष्ट्रलाई अलग गरेर जाँदा हामी घर न घाटको हुन्छौ । नेपाली दलहरुले आवेशमा आएर कुनै निर्णय गरेतापनि संबैधानिक राजतन्त्र र हिन्दू राष्ट्र नभएसम्म लोकतन्त्र बलियो नहुने हुनाले पुनः यसमा फर्किनुको बिकल्प छैन ।

४. हिन्दू राज्यको आवाज चर्को स्वरमा सुनिए पनि राजतन्त्रको कुरा हिजोआज खासै सुन्नमा आएको छैन, राजतन्त्र बारेको तपाईंहरूको पछिल्लो धारणा के हो ?

संबैधानिक राजतन्त्र र हिन्दू राष्ट्र संगसंगै आउने एकअर्काका परिपूरक हुन् । हिन्दू राष्ट्रमा हिन्दुत्वको सर्वश्रेष्ठ संरक्षक भनेको राजा नै हो । त्यसैले गर्दा हिन्दुत्वलाई बलियो बनाउने संरक्षक संस्था राजतन्त्रलाई अलग गर्दा हिन्दुत्व बलियो हुदैन र फेरि यी दुवैलाई अलग गर्दा प्रजातन्त्र बलियो हुन् सक्दैन । नेपालमा प्रजातन्त्रलाई बलियो बनाउने हो भने नेपाल हिन्दू राष्ट्र हुनु अपरिहार्य छ  । हिन्दुत्व नै प्रजातन्त्रको अभिन्न अंग हो । प्रजातन्त्रको उदगम भनेको बेद हो र बेदले व्यवस्था गरेको हिन्दुत्व हो । त्यसले गर्दा ९४ % हिन्दु जनताको आस्थालाई सम्वोधन नगरी ल्याइएको कुनै प्रणाली पनि प्रजातान्त्रिक र दिगो हुदैन । त्यो प्रणालीलाई बलियो बनाउने हो भने सोझै हामीले स्वीकार गर्न सक्दैनौ भने जनमत संग्रह गरिनुपर्छ । विश्वव्यापी मान्यता अनुसार जनमत संग्रहवाट जनताको अभिमतलाई लिएर अघि बढेको प्रणाली मात्र प्रजातान्त्रिक हुन्छ । यो मान्यताका आधारमा हामीले उठाएका हौ । कुनै दिन यो देश बचाउनुपर्यो भने यो मान्यताले मात्र देश जोगाउछ अरु कुनै बिकल्प छैन ।

५. पुर्व राजाले तिहारको भाईटिका लगाएसकेपछि  पुर्वराजा ज्ञानेन्द्रले ‘जनताले चाहे राष्ट्रको नेतृत्व गर्ने’ दिएको अभिब्यक्तीलाई राप्रपाले कसरी लिएको छ ?

राजा पनि राजा मात्रै नभएर एउटा संचेत नागरिक पनि हुन् । राजाले पनि देशको बर्तमान परिस्थितिलाई अरु नागरिक जस्तै मुल्यांकन गरिरहेका छन् । देशको अहिलेको बिग्रदो परिस्थितिलाई हेरेर चिन्ता गरेर देशको अवस्था रहेमा मैले देशको नेतृत्व गर्ने दिन आउछ भनेर दलहरुलाई संचेत र सजक गराई संकेत गर्न खोजेको हो । दलहरु सच्चेनन भने फेरि अन्ततोगत्वा देश बचाउन राजतन्त्रमा जानैपर्छ ।

दिलनाथ गिरी

६. राप्रपाको स्थानीय चुनावी घोषणापत्र अनुसार पार्टीले जितेका सबै गाउँपालिका र नगरपालिकाका सरकारी कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर राख्ने, पुस २७ गते पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउने घोषणा गर्नु सकारात्मक भएपनि कार्यान्वन हुन् सकेको छैन नी ?

पृथ्वीनारायण शाहले विभिन्न टुक्रा-टुक्रामा रहेको  राज्यलाई एकिकरण गरेर एउटा सिंगो नेपालको निर्माण गरे र नेपालभित्र बस्ने सवै जनजाति र धर्मावलम्बीहरुले आफु नेपाली हु भनेर गर्व गर्नसक्ने भए । आजसम्म हामी नेपाली भनेर गर्व गर्नसक्ने पहिचान राजतन्त्रले गर्दा भएकोले गर्दा त्यसलाई अलग गरेर यो मुलुक प्रजातान्त्रिक बन्न सक्दैन । राजतन्त्र बिना यो मुलुकले आफ्नो पहिचान जोगाउन सक्दैन । प्रजातन्त्रलाई बलियो बनाउन संबैधानिक राजतन्त्र र हिन्दुराष्ट्र हुनु अत्यन्तै आवश्यक छ ।

राप्रपाको स्थानीय चुनावी घोषणापत्र अनुसार पार्टीले जितेका सबै गाउँपालिका र नगरपालिकाका सरकारी कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर राख्नुपर्छ । पुस २७ गते पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउने बारेमा हाम्रो पार्टीले नेपाल सरकारलाई पहल गरिरहेको छ। साथै सडक र सदन शशक्त आवाज पनि उठाउनेछौ ।

७. राप्रपाको चुनावी घोषणापत्र अनुसार प्रत्येक नगरपालिकालाई स्मार्ट सिटीका रुपमा बिकास गर्नेछौं भन्नेछ । सवै नगरपालिकालाई स्मार्ट सिटीका रुपमा बिकास सहरी विकास मन्त्रालयवाट केहि पहल भई रहेको छ त ?

हाम्रो पार्टीले राप्रपाको चुनावी घोषणापत्रमा अनुसार प्रत्येक नगरपालिकालाई स्मार्ट सिटीका रुपमा बिकास गर्नेछौं भनेका छौ । सहरी विकास मन्त्रालयले १३ वटा स्मार्ट सिटी बनाउने काम पनि तीव्रताका साथ अगाडी बढाएको छौ ।

८. सहरी विकास मन्त्रालय अन्तर्गत मध्य पहाडी लोकमार्गमा अवस्थित १० वटा नयाँ शहर बनाउने योजनाको काम कसरी अघि बढी रहेको छ त ?

मध्य पहाडी लोकमार्गमा अवस्थित १० वटा नयाँ शहर बनाउने योजनाको काम अघि बढी रहेको छ । भर्खरै हामीले पत्रकार सम्मेलन गरेर प्रष्ट पनि सकेका छौ ।

९. सरकारले काठमाडौँ उपत्यकाभित्र चार किल्ला तोकेर ती क्षेत्रमा तीन वर्षसम्मका लागि जग्गा कित्ताकाटमा रोक लगाएको छ । खासगरी चार स्थानमा ‘स्मार्ट सिटी’ बनाउने योजनाको काम कसरी अघि बढी रहेको छ त ?

बाहिरी चक्रपथको काम अघि बढने बितिकै सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र ४ स्थानमा ‘स्मार्ट सिटी’ बनाउने योजनाको कामको अध्ययन भई रहेको छ । काठमाडौँको मूलपानीको काम अघि बढी रहेको छ ।

१०. अन्त्यमा, नेपालपत्र मार्फत आम नेपाली जनतालाई के भन्न चाहनुहुन्छ ?

म आम नेपाली जनतालाई विनम्र अनुरोध के गर्न चाहन्छु भने यो एतिहासिक निर्वाचन भएकोले गर्दा नयाँ संसद छान्दा बिचार गरेर लोकतन्त्रलाई बलियो बनाई  नेपालको सम्वृद्धिको लागि योग्य संसदलाई मत दिएर जिताएर भन्ने आव्हान गर्न चाहन्छु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !