७ बैशाख २०८१, शुक्रबार

बाँदरले मकै सखाप पारेपछि राहत माग्दै गाउँपालिकामा


भाद्र २३, पाल्पा | बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि राहतका लागि पीडित कृषक गाउँपालिका धाउन थालेका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, छहराका किसान उत्पादित अन्नबाली बाँदरले नष्ट गरेपछि किसान समस्यामा परेका हुन् ।

वनलाई समुदायको रेखदेखमा रहने जिम्मेवारीपछि हराभरा वन क्षेत्रमा बाँदरको बाहुल्यता बढेको होे । बाँदरलाई पहिले बन्दुकले हानेर मार्ने गरेपनि पनि अहिले मार्न पाइँदैन, प्रशस्त कुकुर पनि नभएकाले बाँदरको संख्या बढेको र बस्तीमा प्रवेश गरी अन्नबालीमा क्षति गर्न थालेको स्थानीय बासिन्दा बताउँछन् । वर्षभरि खाने अन्नबाली नष्ट गरेपछि राहतका लागि निवेदन बोकेर गाउँपालिकाको कार्यालयमा आएको छहराकी रमा खत्रीले बताउनुभयो । पहिला अन्नबाली क्षति कम गरे पनि अहिले ठूलो मात्रामा बाँदर बारीमा पसेर क्षति धेरै गरेको खत्रीको भनाइ छ । मेहनत गरेर फलाएको मकै पाक्न लाग्दा बाँदरले क्षति गरेपछि किसानलाई रुनु न हाँस्नु भएको छ ।

स्थानीय बासिन्दा सीता खत्रीका भएका दुवै बारीका पाटामा मकै छैन, वर्षभरि खाने मकै बारीबाट नै सखाप भएपछि राहतका गाउँपालिकामा धाएको बताउनुभयो । मेहनत खेर गएको र नोक्सान ब्यहोर्नु परेकामा सम्बद्ध किसानको दुखेसो छ । मकै, सिमी, बोडीलगायतका अन्नबाली बाँदरले नष्ट गरेपछि किसान यतिबेला थप समस्यामा छन् । अब के खाने हो भन्दै किसान रनभुल्लमा छन् । पहाडी जिल्ला पाल्पामा धानभन्दा मकैबाली राम्रो उत्पादन हुने भए पनि बाँदरले क्षति गर्दा किसानले पाकेको बाली स्याहार्न पाएका छैनन् ।

बाँदरले अन्नबाली सखाप पा¥यो भनेर रैनादेवी छहरा गाउँपालिकामा राहतका लागि पाँच सातवटा निवेदन दैनिकजसो आएका छन् । स्थानीय बासिन्दा तथा किसान गणेश न्यौपानेका अनुसार मकै मात्र होइन, तरकारी, सुन्तलालगायतका वस्तु पनि बाँदरले खाने र नष्ट गर्न थालेपछि यो गाउँपालिकामा सयौँभन्दा बढी घरपरिवार समस्यामा परेका हुन् । बाँदरको क्षतिबाट किसानलाई ठूलो मर्का परे पनि राहत वितरणको कार्यक्रम गाउँपालिकामा छैन । उक्त गाउँपालिका प्रमुख रामबहादुर कार्कीले बाँदरले मकै सखाप पा¥यो भनी राहतका लागि निवेदन परेकाले किसानलाई परेको समस्या सम्बोधन गर्न कार्यक्रम ल्याउने तयारीमा रहेको बताउनुभयो

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !