८ बैशाख २०८१, शनिबार

अहिले १९९ जनामा औलोको जीवाणु फेला


असोज ३, धनगढी । औलो रोग रोकथामका लागि विभिन्न प्रयास भइरहे पनि कैलाली जिल्लामा औलो रोगी फेला पर्ने दर भने अझै घटेको छैन । औलो रोगको जोखिम रहेको कैलाली जिल्लामा पछिल्लो एक वर्षमा १९९ जनामा औलोको जीवाणु फेला परेको छ ।

शंकास्पद रोगीको रगत परीक्षण गर्दा यी व्यक्तिमा औलोको जीवाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय औलो शाखाप्रमुख उदयशंकर साहले जानकारी दिए । औलोको जीवाणु फेला पर्नेमध्ये अधिकांश भारतमा काम गरेर फर्किने नेपाली रहेका छन् । शाखाप्रमुख साहले कामको खोजीमा भारत गएर फर्किनेहरूमा यो रोगको संक्रमण बढी देखिने गरेकाले रोकथाममा समस्या भएको बताए । यसबाहेक जनचेतनाको अभावका कारण पनि रोकथाममा समस्या भइरहेको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरसहित साविकको मालाखेती, गोदावरी, चौमाला, जोशीपुरलगायत गाविस औलोको उच्च जोखिमा रहेको जनाइएको छ । जनस्वास्थ्य कार्यालयको तथ्यांकमा कैलालीमा आव २०७०/७१मा १७९ जनामा औलोका जीवाणु फेला परेकामा आव २०७१/७२मा यो दर बढेर २५५ जनामा जीवाणु फेला परेको उल्लेख छ । गत वर्ष २०७२/७३मा कैलालीमा १९५ जनामा औलोको जीवाणु फेला परेको थियो ।

‘नेपालमा सबैभन्दा बढी औलो जोखिमको जिल्लाका रुपमा कन्चनपुर र कैलाली रहेका छन्’, शाखा प्रमुख साहले भने, ‘नेपालका कूल औलो रोगीमध्ये कैलालीमा ३० प्रतिशत र कन्चनपुरमा ४० प्रतिशत औलो रोगी भेटिने गरेको तथ्यांक छ ।’ संक्रमित ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग वयस्क उमेरका व्यक्तिमा बढी देखिने गरेको छ ।

यो रोगमा चिसो महसुस हुने, टाउको दुख्ने, ज्वरो आउने, पसिना आउनेजस्ता लक्षण देखिने र लामो समयसम्म रोगीको उपचार हुन नसके मृत्युसमेत हुने गरेपनि नेपालमा सन् २००१२ यता औलो रोगका कारण कसैको मृत्यु भएको छैन । रोग रोकथामका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले जोखिम बढी रहेका क्षेत्रमा कीटनाशक विषादी प्रयोग गरिएको ‘सुपानेट झुल’ वितरण गर्ने र कीटनाशक औषधि छर्किने काम गर्दै आएको छ । रासस

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !