१३ बैशाख २०८१, बिहिबार

रुवाउँने प्याजको फाइदा थाहा पाऔं


Onion

प्याजको गन्ध कतिलाई मन पर्दैन सोधिरहनु नपर्ला । गाडीमा वा कतै कसैको मुखबाट ह्वास्स निस्कने प्याजको गन्ध सबैका लागि अप्रिय नै हुन्छ । ‘मुला खाई वन पस’ भने जत्तिको निषेध प्याजमा नगरिने भएपनि खाएपछि गन्धको कारण प्राय प्याजलाई सार्वजनिक क्षेत्रमा अघोषित निषेध नै छ भने पनि फरक पर्दैन । खाएपछि मात्र नभएर खानलाई प्याज काट्नु पनि पीडादायक नै हुन्छ । अत प्याजको संसर्गसँग खासगरि नयाँ पुस्ताका युवायुवतीमा एउटा दुरी नै छ । काट्दा रुवाउँने र खाँदा दुर्गन्ध फैलाउँने प्याजका पनि धेरै फाईदा छन् भन्ने धेरैलाई थाहा नभएको हुन सक्छ ।

संसारमा प्रयोग हुने तरकारीहरूमध्ये सबैभन्दा बढी प्रयोग हुने तरकारी प्याज नै हो । विश्वमा हरेक वर्ष २० अर्ब पाउण्ड भन्दा बढी प्याज उत्पादन हुने गरेको छ । यो तरकारी हरेक मौसममा सुलभ तरिकाले उपलब्ध हुन्छ । यो धेरै गुणले भरिएको खाद्यबस्तु हो । अझ भनौँ भने स्वास्थ्यको लागि औषधि नै मान्न सकिन्छ यसलाई । धनी होस् या गरिब – जसले पनि आफ्नो आफ्नो तरिकले बनाएर खाने गर्दछ प्याज । यसबाट विभिन्न महँगा खालको खाद्यबस्तुबाट पाइने पौष्टिक तत्वहरू पाउन सकिन्छ ।

यो सेतो, रातो र पहेँलो गरी तीन रङमा पाइन्छ । सेतो प्याज सबैभन्दा उत्तम मानिन्छ भने रातो प्याज मध्यम र पहेँलो प्याजलाई साधारण मानिन्छ ।

प्याजबाट एक किसिमको गन्ध आउँछ र यसमा हुने गन्धक तत्वका कारण आउने यो गन्धले गर्दा यसलाई मन नपराउने मानिसहरू पनि छन् तर यो गन्ध मानिसका लागि अति उपयोगी छ भन्ने कुरा भने बिर्सनुहुन्न । प्याजको गन्धले दिमागलाई सन्तुलित पार्दछ । भर्खर उखेलेको प्याजको गन्ध हिस्टेरिया वा दिमागी असन्तुलन भएका व्यक्तिहरूलाई धेरै नै उपयोगी हुन्छ ।

भर्खर उखेलेको हरियो प्याजमा ‘एम‘ नामक एक किसिमको विद्युतीय किरण हुन्छ । त्यसलाई भर्खर निस्केको सुर्यको किरणसँग दाँज्न सकिन्छ । ‘एम‘ नामको यो विद्युतीय किरण प्याजमा उखेलेपछि तीन घण्टासम्म मात्र यसमा रहन्छ, त्यसपछि हराएर जान्छ ।

प्याजलाई काट्दा आँखा पिरो भई आँसु आउन थाल्छ । प्याजमा हुने अल्काइल डाई, ट्राई सल्फाइड र कार्बनिक कम्पाउण्डले गर्दा यसो हुने गरेको हो । यसका साथै यसमा थायो प्रोपेनल सल्फर अक्साइडका रूपमा एक किसिमको गन्ध आउने तेल पनि हुन्छ । यो तेलले आँखाको आँसु निकाल्ने ग्रन्थीलाई उत्तेजित पारिदिन्छ । प्याज काट्दा यो तेल बाफका रूपमा आँखाभित्र गई आँखालाई पिरो बनाउँछ र आँखाबाट आँसु आउँछ । प्याजलाई पानीमा डुबाएर काट्यो भने यसबाट बाफ निस्कन पाउँदैन र आँखा पनि पिरो हुँदैन ।

प्याजलाई खासगरी हरियो तरकारीका रूपमा खाइन्छ तर यसको जमिनमुनिको भाग नबिग्रिने हुनाले यो प्रायः हरेक महिना बजारमा उपलब्ध हुन्छ । अरू तरकारीको अभाव भएको बेला अथवा केही पनि तरकारी नपाइएको अवश्थामा पनि बजारमा प्याज पाइने हुनाले प्रायः धेरैजसो घरमा ‘प्याज आलु‘, ‘आलु प्याज‘ भन्दै तरकारी बनाउने गरिन्छ । प्याजलाई विभिन्न तरिकाले बनाएर खाने चलन छ । तरकारी, अचार, सलाद आदिका साथै अरू तरकारी वा परिकारसँग मिसाएर काँचै वा पकाएर वा अन्य परिकारसँग मिसाएर पनि प्याज खाने गरिन्छ ।

प्याजमा प्रोटिन, चिल्लो पदार्थ, खनिज, रेशा, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फरस, फलाम, भिटामिन सी आदि विभिन्न पौष्टिक तत्वहरू पाइन्छन् । माछा, मासु जस्ता पौष्टिक तत्व प्रशस्त भएको तर महँगो तरकारी किनेर खान नसक्ने व्यक्तिहरूले प्याजबाटै धेरै फाइदा प्राप्त गर्न सकिन्छ ।

धेरैजसो तरकारीहरूमा करिब ४७ प्रतिशतदेखि ६० प्रतिशतसम्म खेर जाने पदार्थ हुन्छन् । तरकारीको खेर जाने पदार्थमा अलिकति लिग्निन् र धेरै मात्रामा सेल्युलोज हुने भएकोले यिनीहरू स्वादहीन, खस्रा र पचाउन नसकने हुन्छन् । यिनीहरूलाई खान नहुने वा खेर जाने पदार्थ भनिन्छ । प्याजमा खेर जाने पदार्थ भनेको बोक्रा र जरा हो । यो जम्मा ३० प्रतिशत हुन्छ ।

प्याजको बोक्रालाई विभिन्न सजाउने वस्तुमा पनि प्रयोग गर्न सकिन्छ तर यो चलन नगण्य रूपमा मात्र छ । प्याज दिनदिनै सेवन गरेको खण्डमा शरीरमा फुर्ति बढ्छ, पाचन शक्ति वृद्धि हुन्छ, हात खुट्टा कठ्याङग्रिने, न्रि्रा नलाग्ने जस्ता समस्याबाट राहत पाउन सकिन्छ । यसबाहेक पनि प्याजलाई अरू विभिन्न किसिमबाट उपयोग गर्न सकिन्छ । औषधिका रूपमा प्याज विशेष गरेर हैजा फैलिने मौसम बर्षायाममा यसको प्राथमिक उपचारका रूपमा प्याज र बाबरी -पुदिना) पिसेर त्यसको रस दुई-दुई घण्टाको फरक पारी खुवाएमा बान्ता रोकिन्छ र बिरामीलाई निद्रा पनि लाग्छ । साथै विस्तारै झाडा पनि टाढिएर जान्छ ।

कसैलाई फलामको कमी भएमा, शिशुहरुमा बाधा भएमा प्याज प्रशस्त खुवाए यी समस्याबाट मुक्ति पाउन सकिन्छ । प्याजको रस र अदुवाको रस बराबर मिसाएर खाएमा बान्ता रोकिन्छ । प्याजको रस दुई तीन थोपा कानमा राखेमा कान दुखेको पनि निको हुन्छ । शरीरमा रगतको कमी भयो भने रक्तअल्पता हुन्छ । शरीरमा रगत बढाउनका लागि भिटामिन बी र फलाम बढी भएका खानाहरू खानमा बढी जोड दिनु पर्दछ । फलाम पाइने तत्वमध्ये प्याज पनि एक हो । वायुविकार भएका व्यक्तिहरूले काँचो प्याज दिनहुँ केही मात्रामा खाने बानी बसालेमा फाइदा गर्छ ।

श्रृङ्गार प्रसाधनका रूपमा प्याज कुर्कुच्चा फुटेको छ भने एउटा प्याजलाई पिसेर त्यसको रसबाट फुटेको ठाउँमा नियमित मालिस गरेमा फुटेको हराउँछ । प्याजको रस एक भाग, मह दुई भाग मिसाएर ठूलो चम्चाले एक चम्चा दिनहुँ सेवन गरेमा शरीरको छाला राम्रो हुन्छ । अन्त्यमा एउटा रमाइलो उपयोग – प्याजको रसबाट कागजमा अक्षर लेखेमा तत्कालै त्यो देखिँदैन तर त्यो कागजलाई पानीमा भिजाएमा अक्षर प्रस्टसँग देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !