४ बैशाख २०८१, मंगलबार

इलाममा एक वर्षमा २१ हजार जनाले गरे स्वास्थ्य बीमा


Swasthya-bima

कात्तिक २५, इलाम । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा जिल्लामा २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन् । सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट स्वास्थ्य बीमा दर्ता प्रक्रिया सुरू गरी भदौ १ गतेबाट सेवा दिन सुरू गरेको थियो ।
स्वास्थ्य बीमा गराउने २१ हजार २६४ जनामध्ये १४ हजार ८६४ जनाले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएको सामाजिक सुरक्षा विकास समितिका दर्ता अधिकारी खेमराज अधिकारीले जानकारी दिए । बिमितमध्ये २ हजार ९३७ जनाले झापा र १२० जनाले काठमाडौंबाट र ११ हजार ८०० जनाले जिल्लाकै प्रास्वाके, इलाम अस्पतालबाट सेवा लिएका छन् । सरकारले २०७२ चैत २५ गतेबाट नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच तथा आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट वन्चित हुनु नपरोस् भनी पहिलो चरणमा बागलुङ र दोस्रो चरणमा इलाममा स्वास्थ्य बीमा सन्चालन गरेको अधिकारीले बताए ।
जिल्लाका फिक्कल, पशुपतिनगर, मंगलबारे र प्याङ गरी चार ओटा प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पताल, मेची अन्चल अस्पताल चन्द्रगढी, आम्दा अस्पताल दमक र मेची आँखा अस्पताल बिर्ताबजार प्रथम सेवा बिन्दुका रूपमा छन् ।
झापाको बिएन्डसी अस्पताल, कोशी अन्चल अस्पताल र काठमाडौंका विभिन्न अस्पताल रिफरल अस्पतालका रूपमा राखी सेवा प्रदान गरिँदै आएको छ । विमितहरूको सेवा प्रारम्भ भएको एक वर्ष पुगेपछि पुनः बीमाबापतको रकम तिरेर नवीकरण गर्नुपर्ने अधिकारीले बताए । इलाममा ५२ जना दर्ता सहयोगी नियुक्ति गरेर स्वास्थ्य बीमा कार्यक्रम सन्चालन गरिँदै आएको छ ।
स्वास्थ्य बिमा गराउनेमध्ये अधिकांश दीर्घ रोगीका बिरामी बढी देखिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ । जसमध्ये उच्च रक्तचाप, ग्यास्ट्रिक, मधुमेह, तल्लो पेट दुख्ने बिरामीको संख्या बढी देखिएको समितिले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !