७ बैशाख २०८१, शुक्रबार

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको आपत्ति


tu

१ जेठ, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयवाट ‘त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ’का सभापति योगेन्द्रनारायण बडबरियाको लामो समयदेखि काज बिदा स्वीकृत नगरिएको भन्दै सङ्घले आपत्ति जनाएको छ । हाल त्रिवि राजनीतिशास्त्र केन्द्रीय विभागमा प्राध्यापनरत बडबरियाको काजको विषय सामान्य भए पनि बढाइचढाई गरिएको संघको जिकिर छ ।

संघको कामका लागेका बेला सभापतिले काज बिदा माग्नुभएकामा लामो समयदेखि स्वीकृत हुन नसकेको छैन । प्रजातन्त्रको पुनःस्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्राध्यापकमाथि केही शक्तिले मानमर्दन गर्न खोजिएको उनीहरुले आरोप लगाएका छन् ।

नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष रामेश्वर उपाध्यायले त्रिवि कुलपतिको अस्वस्थताको कारण देखाई विश्वविद्यालयको सभाको बैठक स्थगन गर्नुले प्राज्ञिक गरिमा घटेको बताए । गत वैशाख २३ मा तय भई स्थगित सभामा सभापति बडबरियाको काजको विषय पनि कार्य सूचीमा थियो ।

पत्रकार सम्मेलनमा पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति खगेन्द्र भट्टराईले नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ तथा पापडजस्ता थुप्रै पेशागत संगठनको नेपालमा प्रजातन्त्र स्थापना गर्न प्रमुख भूमिका रहेको बताउँदै प्रजातन्त्र स्थापनापछिका दिनमा पनि ती निकायमाथि प्रहार हुनु शोभनीय नभएको बताए ।

त्रिविका पूर्वशिक्षाध्यक्ष डा राममान श्रेष्ठले एउटा संस्थाको अध्यक्षको काजको कुरा उठाउनु अशोभनीय हो भन्दै विश्वविद्यालयको ऐनमा नै काज लिन पाउने व्यवस्था प्रष्ट रुपमा रहेको र प्राध्यापकले पनि त्यसलाई आधार मानेर काज लिने गरेको जिकिर गरे ।

सभापति बडबरियाले प्राज्ञिक गरिमाका लागि जीवनभर लडेका व्यक्ति आफूमा अवैध तरीकाबाट काज स्वीकृत गराई लाभ लिने मनशाय नभएको जिकिर गरे ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !