१३ बैशाख २०८१, बिहिबार

सिङ्गापुर वार्ता आणविक निशस्त्रीकरणको कोशेढुङ्गा


Editorial

नेपालपत्र, ३० जेठ २०७५ । सिङ्गापुरमा मङ्गलबार सम्पन्न अमेरिका र उत्तर कोरिया शिखर वार्ताले विश्वलाई नै नयाँ सन्देश दिएको छ । सिंगापुरमा सन् २०१८ को जुन १२ मा भएको शिखर वार्तापछि राष्ट्रपति ट्रम्प र सर्वोच्च नेता किमले संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् । संयुक्त वक्तव्यमार्फत् अध्यक्ष किमले आणविक निशस्त्रीकरणका पक्षमा दृढ प्रतिबद्धता र राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको सुरक्षाको प्रत्याभूति प्रकट गरेका छन् । अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध स्थापना, कोरियाली प्रायःद्विपमा स्थायी शान्ति, कोरियाली प्रायःद्विपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउने अप्रिल २७, २०१८ को पानमुनजोम घोषणाप्रति प्रतिबद्धता तथा युद्ध बन्दी तथा बेपत्ता परिएका एक अर्काका नागरिकलाई खोजी गरी र फिर्ता पठाउने सहमति दुई नेताबीच भएको छ ।

सिङ्गापुर वार्ताले सन् १९५३ मा अनायासै कोरिया विभाजन भएपछि आजका दिनसम्म जुन पीडा दुई देशको रुपमा दक्षिण कोरिया र उत्तर कोरियाका अधिकांश नागरिकले भोगेका छन् त्यस पीडाको अन्त्य हुने वातावरण बन्नेमा आशावादी बन्न सकिने छ । विश्वले नै राष्ट्रपति ट्रम्प र सर्वोच्च नेता किमबीचको शिखर वार्तालाई धेरैले अपेक्षा गरेभन्दा बढी सफल मानेका छन् । जुन १२ को लागि वार्ताको मिति र स्थानसमेत तोकिएपछि पनि वार्ता नहुने भनेर स्थगित भएको थियो तर दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनको बिशेष पहल र चीनको साथमा यो वार्ताले सफलता पाएको हो ।

तर अब अमेरिका र उत्तर कोरियाको सम्बन्ध सुधार भएमा जापान, चीन, रुस, दक्षिण कोरियाले आफुलाई कसरी आगामी दिनमा सम्बन्ध विस्तार गर्छन् त्यसले आगामी दिनको संकेत गर्नेछ । चीनको मात्रै सहयोग र साथ खुलेर पाएको उत्तर कोरियाले पछिल्लो समयमा दक्षिण कोरियाको साथ पाएको छ । सिङ्गापुरमा भएको सम्मेलन विश्वको दीर्घ शान्ति र पूर्ण तथा प्रमाणित रूपमा कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्न अग्रगामी कदम अर्थात् कोशेढुङ्गा सावित हुनेछ भनी संयुक्त राष्ट्रसंघले जारी गरेको विज्ञप्तिले अब अमेरिका र उत्तर कोरियावीच रहँदै आएको कटुता अन्त्य भएको बुझ्ने संकेतको रुपमा लिन सकिन्छ ।

दुई शक्तिशाली राष्ट्रका शासकहरूले गरेको वार्ता र व्यवहारले विश्वमा शान्तिका लागि ठूलो कदम बन्ने निश्चित छ । त्यतिमात्र होइन कुनैपनि समस्याको समाधान वार्तावाट सम्भव छ भन्ने सन्देश पनि सिङ्गापुर वार्ताले दिएको छ । पूर्वी एसियामा भारत र पाकिस्तानवीच रहेको कटुता अन्त्य गर्न पनि वार्ता लाभदायक हुन्छ भन्ने दबाब बढाएको छ । पहिलो चरणको वार्ता सफल भएपनि उत्तर कोरियाले आणविक निरस्त्रीकरण कसरी गर्ने हो र अमेरिकाले कोरियाप्रति लगाएको आर्थिक प्रतिबन्ध के हुने हो, त्यसले नै आगामी दिनको सम्बन्ध निर्भर हुनेछ । उत्तर कोरिया र अमेरिकाबीच निकट सम्बन्ध स्थापना हुन सकेमा विश्वमा आर्थिक चमत्कार देख्न सकिनेछ र युद्धको प्रतिष्पर्धा होइन विकास र सम्बृद्धिको प्रतिष्पर्धा चल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !