७ बैशाख २०८१, शुक्रबार

सरकारकाे राेजगार सम्बन्धी महत्वकांक्षी लक्ष्य, पूरा हाेला  घाेषणा ?


Editorial

नेपालपत्र, ८ जेठ २०७५ । संघीय गणतन्त्र नेपालकाे संघीय संरचनाकाे कार्यन्वयन हुने सन्दर्भमा सरकारले याे पटक प्रस्तुत गरेकाे नीति र कार्यक्रम सबैकाे चासाेकाे विषय बनेकाे छ । यस पटक सरकारले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम भनेकाे पार्टी एकतापछि बहुमत प्राप्त नेकपाले पहिलाे पटक एकलाैटी सरकारकाे हैसियतमा प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम हाे ।

चुनावी घाेषणापत्रका विषयवस्तुलाई समेटेर नीति र कार्यक्रम घाेषणा भएपनि यसले एकवर्षमा कति उपलब्धी हात लाग्ने हाे त्याे भने समयकाे प्रतिक्षा गर्न नै बाँकी छ । अाज विशेषगरी राेजगार सम्बन्धी विषयमा केही उठान गर्ने जमर्काे गरेका छाैं । अहिले दैनिक ३ हजारकाे हाराहारीमा दैनिक राेजगारीमा विदेश गइरहेकाे अवस्था छ । नेपालकाे अर्थतन्त्रमा वैदेशिक रेमिटेन्सले ठुलाे टेवा पुर्याएकाे अवस्था छ । देशभित्र राेजगारकाे अवसर नभएकाे अवस्था छ । अहिले पछिल्लाे समयमा त झन विद्यार्थी र सिपयुक्त जनशक्तिकाे ठूलाे संख्या पनि विदेश पलायन भइरहेकाे पाइन्छ । याे अवस्था अाउनुमा राज्यकाे नीतिमा रहेकाे कमजाेरी नै हाे । राज्यले देशमै राेजगारी सिर्जना गर्न नसक्नु र राेजगारकाे अवसर भएकाे क्षेत्रमा उचित पारिश्रमिक नहुनुले पनि विदेश पलायनकाे दर बढेकाे पाइन्छ । यहाँ गर्ने परिश्रम र मिहिनेत विदेशमा गर्दा दाेब्बर कमाई हुनु नै विदेश अाकर्षणकाे केन्द्र बन्नु हाे । नेपालमा चाँडै राेजगारीका अवसर सिर्जना हुने अवस्था कम छ र यसका लागि समय लाग्ने निश्चित छ ।

त्यतिमात्र हाेइन यदि राेजगारकाे अवसर प्राप्त भएर पनि उचित पारिश्रमिककाे व्यवस्थापन हुन सकेन भने विदेश पलायन राेकिने छैन । यस्ताे यथार्थकावीचमा सरकारले ५ वर्षपछि नेपालीले विदेशमा काम गर्न जानू नपर्ने महत्वकांक्षी लक्ष्य नीति र कार्यक्रम मार्फत अघि सारेकाे छ । सरकारले कृषि, उद्याेग, पर्यटन र उर्जाकाे माध्यमवाट राेजगारीकाे अवसर सिर्जना गर्ने र प्रतिव्यक्ति अाय बढाउने लक्ष्य राखेकाे छ । तर विदेश पलायन पूर्ण राेक्नकाे लागि मजदुरकाे पारिश्रमिकमा उल्लेखनीय वृद्धि हुनु अावश्यक छ । कलकारखाना र उर्जाकाे उचित व्यवस्थापन हुन सकेमा मात्रै राेजगारकाे अवसर सिर्जना हुन सक्दछ ।

अाशा गर्ने ठाउँभने अवश्य छ, सम्भावना नै नभएकाे हाेइन तर विगतमा प्रस्तुत भएका नीति र कार्यक्रम कागजमै सीमित भएकाले शंकारहित हुने अवस्था छैन । सरकारले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम पूर्ण कार्यन्वयन भएर देशले अार्थिक संवृद्धिकाे बाटामा अगाडि बढ्न सकाेस् सबैकाे यही छ अाशा र भराेसा अहिलेकाे बहुमत प्राप्त नेकपाकाे सरकारसँग । जनताकाे चाहना पूरा हाेस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !