८ बैशाख २०८१, शनिबार

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे जनकपुर भ्रमण र प्रदेश दुईले दिएकाे महत्व


Editorial

नेपालपत्र, २६ वैशाख २०७५ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी यही वैशाख २८ मा दुई दिने नेपाल भ्रमणमा अाउँदै हुनुहुन्छ । भारतसँग निकट मानिएकाे प्रदेश नं. २ लाई नै यस पटककाे भ्रमणकाे पहिलाे गन्तव्यमा बनाउनुले धेरै कुराकाे संकेत गर्दछ ।

किन भारतीय प्रधानमन्त्रीले काठमाण्डाैलाई पहिलाे गन्तव्य बनाउन सकेनन् ? तत्कालै यस विषयमा कसैले गम्भीर भएर साेचेकाे पाइदैन ? भारतीय प्रधानमन्त्री सिधै काठमाण्डा‌ै अाएर जनकपुर जानसक्ने थिए । त्यसाे हुँदा नेपालका प्रधानमन्त्रीले अाफ्ना समकक्षीलाई राजधानीमै स्वागत गर्ने अवसर मिल्ने थियाे । तर माेदी अाएकै स्थान जनकपुर नै पुगेर प्रधानमन्त्री अाेलीले समकक्षी माेदी भेट्दै छन् । किन प्रधानमन्त्री स्वयम् जनकपुर पुग्न लागेका हुन्? रक्षामन्त्रीले भारतीय प्रधानमन्त्रीलाई सर्वप्रथम नेपाल भ्रमणका क्रममा स्वागत गर्ने कार्यतालिका सार्वजनिक भइसकेकाे अवस्थामा अाेली जनकपुरधाम नै पुगेर स्वागत गर्नुपर्ने बाध्यता के हाे बुझ्न पाउनु सर्वसाधारणकाे अधिकार समेत हाे ।

याे तयारीले नेपाली नेतृत्वकाे मानसिकता प्रष्ट पारिदिएकाे मात्र छैन राष्ट्रियताकाे सवालमा लिएकाे भनिएकाे अडानकाे अाैचित्यसमेत समाप्त भएकाे छ । नेपाल सरकारले यसलाई कसरी हेरेकाे छ त्याे अागामी दिनले झल्काउने नै छ ।

अब फेरि दुई नम्बर प्रदेशकै गतिविधिलाई हेर्याैं । भारतीय प्रधानमन्त्री दुई नम्बर प्रदेशबाट दुई दिने भ्रमण गर्ने सार्वजनिक भएसँगै स्वागतकाे तिव्र तयारी भएकाे पाइन्छ । तयारी यतिसम्म भएकाे छ कि सरसफाई गरेर जनकपुर चिटिक्क सजाइएकाे छ । माेदीका गन्तव्यका बाटाेहरू मर्मत र संभार तिव्र गतिमा बढेकाे देखिन्छ । जनकपुरधाम स्वागत गेट र व्यानरले धेरै झकिझकाउ बनेकाे छ । अझ हिन्दी भाषाकाे मात्र प्रयाेग गरेर बनाईएका स्वागत व्यानरले दुई नम्बरकाे अवस्था चित्रण गरेकाे पाइन्छ ।

भारतीय प्रधानमन्त्री नेपाल अाउनु र जनकपुर भ्रमण गर्नुले जनकपुरकाे चर्चाले भारतभर जनकपुरकाे प्रचार प्रसार हुने र भारतीय पर्यटक बढ्ने निश्चित छ । त्यतिमात्र हाेइन माेदीकाे यात्रा सहज बनाउन गरिएका विकास निर्माणले दुई नम्बरका जनतालाई बिकास के हाे भन्ने चिन्ने माैका दिएकाे छ । अार्थिक रूपमा अघि बढ्नसमेत सहज हुनेछ । माेदीकाे भ्रमण पश्चात् विशेषगरी जनकपुरमा भारतीय पर्यटक बढ्ने निश्चित छ ।

तर अावश्यकताभन्दा बढि महत्व दिएर गरिएकाे प्रचार प्रसारले पक्कै राम्राे सन्देश दिने छैन । अतिथिकाे सत्कार गर्नुपर्छ तर सत्कारकाे नाममा चाहिनेभन्दा बढि तामझाम अावश्यक छैन । हामीले जति नै सत्कार गरे पनि जबसम्म भारतीय हस्तक्षेप र प्रभाव राेकिदैन तवसम्म विकास र प्रगतिमा प्रत्यक्ष वा अप्रत्यक्ष भारतकाे नकारात्मक भूमिका रहिरहन्छ र नेपालकाे उन्नतिकाे वाधक भारत न‌ै हुन्छ । सरकारले माेदीलाई खुसी पार्न जसरी अाफ्नै जनताकाे मन दुखाउने चेष्ठा गरिरहेकाे छ याे वर्तमान सरकारकाे लागि प्रत्युत्पादक नबन्न नि सक्दछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !