७ बैशाख २०८१, शुक्रबार

प्रविधिमा अगाडि अछामको साँफेबगर नगरपालिका


Nepalpatra

९ जेठ, अछाम । जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको प्रयोगमा अगाडि रहेको छ । विद्युतीय हाजिरीदेखि कार्यक्रम र कार्यपालिकाको बैठकको जानकारी दिनुपरेमा मोबाइल सन्देश एसएमएस मार्फत सबैलाई जानकारी गराइन्छ । कार्यपालिकाको बैठकमा छलफल हुने विषयका बारेमा पनि कार्यपालिका सदस्यलाई जानकारी गराएर त्यस विषयमा अध्ययन गरेर आउनसमेत एसएमएसमार्फत जानकारी गराइँदै आएको कार्यपालिका सदस्य जयन्ती बोगटीले बताए ।

हामीलाई नगरपालिकामा हुने सबै कार्यक्रमको जानकारी एसएमएसमार्फत जानकारी गराइन्छ बोगटीले भन्नुभयो, “हाम्रो नगरले प्रविधिको भरपुर प्रयोग गरिरहेको छ । हामीले प्रविधि प्रयोग गर्नेबारेमा पनि सिकिरहेका छौँ ।

नेपालका चारधाममध्ये एक वैद्यनाथ मन्दिरमा सुशासन पारदर्शिताका लागि समेत सिसीक्यामरा जडान गरिएको छ । मन्दिरमा चढाइएको दान भेटीको पारदर्शिताका लागि सिसीक्यामेरा जडान गरिएको र नगरपालिका–१० घुघुरकोटको बेतालमाडाँै उच्च माविमा विद्युतीय हाजिर शुरु गरिएको नगर प्रमुख कुलबहादुर कुँवरले बताए ।

आगामी दिनमा साँफेबगर नगरपालिकाका सम्पूर्ण कार्यालयमा विद्युतीय हाजिर प्रणाली लागू गर्ने प्रमुख कुँवरले बताए । सरकारी विद्यालयमा शिक्षक नियमित उपस्थित नहुने गुनासो आएपछि त्यसको अन्त्य गर्न र स्वास्थ्य क्षेत्रमा सुधार गर्न विद्युतीय हाजिर प्रणाली शुरु गरेको कुँवरको भनाइ छ ।

“नगरपालिकाभित्र कागजको प्रयोग हटाउने तयारीमा छु,” प्रमुख कुँवरले भन्नुभयो, “सहजताका लागि पैसा पनि बोक्न नपर्ने गरी पैसा बैंकमा भएपछि र मोबाइल हातमा भएपछि सबै काम हुने बनाउनेछु ।” अबदेखि नगरभित्र हुने जुनसुकै कार्यक्रम ल्याप्टप र प्रोजेक्टरमार्फत गरिनेछ । नगरले सबैभन्दा पहिले प्रत्येक वडामा वाइफाई जडानका लागि पहल गरिरहेको छ ।”

कार्यालयका कर्मचारी नियमितरुपमा नबस्ने यस्ता खाले जनगुनासो मध्येनजर गरी शिक्षा र स्वास्थ्यजस्तो अति संवेदनशील सेवामा चुस्त, दुरुस्त सेवा प्रवाह गर्नका लागि इलेक्ट्रोनिक हाजिरी प्रणालीले सहयोग पु¥याउने कुरामा जनप्रतिनिधिको विश्वास रहेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्यले शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कर्मचारीको अनियमितताले खेलवाड भइरहेको विषयलाई अन्त्य गर्न विद्युतीय हाजिरी प्रणाली शुरु गरेको बताए ।

रु ११ लाखभन्दा बढी राजश्व संकलन

यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा रु ११ लाख बढी राजश्व संकलन गरेको छ ।

कार्यालयले विभिन्न सवारीसाधनलाई कारबाही गरेबापत रकम संकलन गरेको हो । जिल्ला ट्राफिक कार्यालय, साँफेबगरका अनुसार २३४ वटा बसलाई कारबाहीबाट रु एक लाख ३९ हजार, २२४ ट्रक कारबाहीबाट रु एक लाख ३४ हजार ५००, ६५२ वटा जिपलाई कारबाहीबाट रु तीन लाख ६३ हजार, ३२० ट्रयाक्टरलाई कारबाही गर्दा रु एक लाख ९५ हजार र ५५७ वटा मोटरसाइकललाई कारबाही गर्दा रु तीन लाख २१ हजार राजश्व संकलन गरिएको हो ।

गत आवमा एक हजार ६४८ सवारी कारबाहीमा रु १० लाख नौ हजार ५०० संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय साँफेबगरका इञ्चार्ज कर्ण चुनाराले जानकारी दिए । प्रहरीका अनुसार विभिन्न २७ वटा सवारी दुर्घटनामा परी तीनजनाले ज्यान गुमाएको, पाँचजना गम्भीर घाइते भएका र ४२ जना सामान्य घाइते भएका छन् ।

चालू आवको १० महिनामा २७ सवारी दुर्घटनामा परेकामध्ये पाँचवटा ट्रक, आठवटा जिप, आठवटा ट्रयाक्टर र छवटा मोटरसाइकल रहेका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये दुई महिला र एक पुरुष रहेका छन् । घाइते ४२ जनामध्ये छजना महिला र ३६ जना पुरुष रहेको कार्यालय प्रमुख चुनाराले जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !