८ बैशाख २०८१, शनिबार

काठमाडौंका चार ठाउँबाट केवलकार चलाउन सकिने


cablecar-in-kathmandu

२४ जेठ, काठमाडौं । काठमाडौंमा सीटी अर्बान केवलकारको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको छ । फ्रान्सका दुईवटा कन्सल्ट्यान्ट कम्पनीले सिटी अर्बन केवलकारको विस्तृत सम्भाव्यता अध्ययन गरेका हुन् ।

फ्रान्सेली एमडीपी र सिष्ट्रा कम्पनीले सोमबार केवलकारको सम्भाव्यता अध्ययन प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएका छन् ।

कहाँ-कहाँ चल्न सक्छ केबुलकार ?

काठमाडौंमा केवलकार सञ्चालनका लागि चारवटा लाइनहरुको पहिचान गरिएको छ । लगनखेल-जमल, टंकेश्वर-गोंगबु, कलंकी-रत्नपार्क र बौद्धनाथ-बिष्णुमति गरी चारवटा लाइनमा केवलकार सञ्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

चारवटा लाइनमध्ये बौद्धनाथ-विष्णुमति (ताहचल)लाई लक्षित गरेर विस्तृत सम्भाव्यता अध्ययन गरिएको हो ।

एउटा केवलकार लाइनको डीपीआर अरु लाइनसँग पनि मिल्ने हुँदा कन्सल्ट्यान्टहरुले बौद्धनाथ-विष्णुमतिलाई आधार बनाएर प्रतिवेदन तयार पारेको नेपालस्थित फ्रान्सेली राजदूतावासका कर्मचारी दीपेशकुमार बिडारीले बताए ।

प्रतिवेदनअनुसार बौद्धनाथदेखि विष्णुमतिसम्म केवलकारको दुरी ७ किलोमिटर हुनेछ । जहाँ केवलकारका ७ वटा स्टेशन हुनेछन् । झण्डै १/१ किलोमिटर दुरीमा बौद्धनाथ, चावहिल, भण्डारखाल, डिल्लीबजार, रत्नपार्क, डरबार स्क्वायर र विष्णुपति (ताहाचल)मा स्टेशनहरु हुनेछन् ।

बौद्धनाथ-विष्णुमतिसम्मको केवलकार लाइनमा २५० वटा डब्बाहरु हुनेछन् । एउटा डब्बामा १२ जना अटाउने बताइएको छ । हरेक १५/१५ सेकेण्डमा स्टेशनमा आउने डब्बाले एक दिनमा करिव ७० हजार यात्रु बोक्ने फ्रान्स नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्याममोहन श्रेष्ठले बताए ।

काठमाडौं अर्बन केवलकार परियोजनाको डीपीआरका लागि फ्रान्सेली कन्सल्ट्यान्ट कम्पनीसँग भौतिक मन्त्रालयले सन् २०१५ फेबुअरीमा सम्झौता गरेको थियो । एक वर्षभन्दा बढी समय लगाएर कन्सल्ट्यान्ट कम्पनीले प्रतिवेदन बुझाएका हुन् ।

यो परियोजना निर्माण गर्नका लागि १०/१२ अर्ब रुपैयाँ लगानी हुने अध्यक्ष श्रेष्ठले बताए । नेपाली लगानीकर्ता, फ्रान्सेली लगानीकर्ता, एशियाली विकास बैंक, वल्र्ड बैंक, आइएफसी, लगायतलाई सहभागी बनाएर पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा केवलकार निर्माण गर्ने उनको भनाइ छ ।

लगानी जुटाएर एक डेढ वर्षभित्रमै केवलकार निर्माण सुरु गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ । धेरै पहिलादेखि बहसमा आएको अर्बन केवलकार परियोजनाले सार्थक रुप लिन लागेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !