१३ बैशाख २०८१, बिहिबार

चीनको ग्वान्जाओमा खुल्यो नेपाली महावाणिज्य दूतावास


भदौ २५, काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आइतबार उद्घाटन गरेका छन् । परराष्ट्रमन्त्री महराले ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय सरकारलाई धन्यवाद दिए । यो नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–चीनबीचको द्वीपक्षीय सम्बन्धलाई थप सबल बनाउन र वाणिज्यका क्षेत्रमा अझ सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विचार व्यक्त गरे ।

यो प्रान्तसँग नेपालको व्यापार सम्बन्ध मजबुत् रहेको भन्दै उपप्रधानमन्त्री महराले यस कार्यालय स्थापनापछि आर्थिक एवं व्यापारिक गतिविधि थप विस्तार हुने बताए । उनले आउँदा दिनमा दुई देशका जनताकाबीचमा पनि राम्रो सम्बन्ध विस्तार हुने उल्लेख गरे ।

यहाँ झन्डै २०० नेपाली व्यापारी विभिन्न व्यवसायमा संलग्न छन् । उनीहरुकाअनुसार महावाणिज्य दूतावास खुलेसँगै व्यापारीलाई आइपर्ने समस्या समाधान हुनेछन् । उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललगायतको उपस्थिति रहेको प्रेस जनसम्पर्क संयोजक हरि लामिछानेले जानकारी दिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !