७ बैशाख २०८१, शुक्रबार

सिमेन्ट उद्योगमा हालसम्मकै ठूलो लगानी


शिवम् सिमेन्ट

भाद्र १९ , काठमाडौँ  | सिमेन्ट उद्योगमा मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि आइतबार परियोजना लगानी सम्झौता भएपछि ठूलो परिमाणको लगानी भित्रने भएको हो ।

सम्झौताअनुसार रु ३६ अर्ब ७५ करोड बराबरको चिनियाँ लगानी मुलुक भित्रिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताउनुभयो । परियोजना लगानी सम्झौतामा बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी र कम्पनीका तर्फबाट निर्देशक लाइ वेईपेङले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर समारोहमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि चिनियाँ राजदूत यू होङको उपस्थिति थियो ।

परियोजना लगानी सम्झौता नेपाल सरकार र कम्पनीबीचको करार हो । सम्झौतामा दुवै पक्षका अधिकार र दायित्वलाई स्पष्ट पारिएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत अधिकारीले लगानीको सुरक्षाको प्रत्याभूति गरिएको उल्लेख गर्नुभयो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा कारखाना स्थापना गर्नेछ । कारखानाको लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा रहेको छ । आयोजनामा नेपालको शिवम् होल्डिङ समूहको लगानी रहेको छ । कम्पनीले सन् २०१८ भित्र उत्पादन सुरु गर्नेछ । शुरुमा दैनिक ६ हजार टन क्षमताको हुने सो उद्योगको उत्पादन वृद्धि गरी दैनिक १२ हजार टन पुरयाउने लक्ष्य रहेको छ ।

आयोजनाका लागि तत्काल नेपाल विद्युत् प्राधिकरणले दुई मेगावाट विद्युत् उपलब्ध गराएको छ । कारखानाका लागि करिब १२ मेगावाट विद्युत् जरुरी रहेको छ । परियोजनामा चिनियाँ कम्पनीको ७० प्रतिशत र नेपाली साझेदारको ३० प्रतिशत लगानी रहनेछ । नेपालमा नै गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने र सिमेन्ट उद्योगमा पूर्णरुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कारखाना स्थापना गर्न लागिएको हो ।

हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री कार्कीले लगानी सम्झौताबाट नेपालको व्यावसायिक वातावरणबारे सकारात्मक सन्देश सम्प्रेषण भएको बताउनुभयो । उहाँले परियोजना कार्यान्वयनका क्रममा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग समयमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘परियोजना कार्यान्वयनका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र सहजीकरणको सुनिश्चितता दिलाउन चाहन्छु’ अर्थमन्त्री कार्कीले भन्नुभयो । उहाँले बजेटमा व्यक्त भएअनुसार आवश्यक पूर्वाधार तथा अन्य सुविधा सरकारले उपलब्ध गराउने उल्लेख गर्दै सम्झौतालाई अन्तिमरुप दिने क्रममा बोर्ड कार्यालय र सम्वद्ध मन्त्रालय तथा सरकारी निकायका तर्फबाट भएका प्रयासको प्रसंशासमेत गर्नुभयो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले यस सम्झौताले विदेशी लगानीकर्तालाई नेपाल वास्तवमै आकर्षक गन्तव्य बन्दै गइरहेको भन्ने प्रमाणित भएको बताउनुभयो । सम्झौतासँगै नेपालमा विश्वस्त भएर लगानी गर्ने र नेपालको आर्थिक समृद्धिको यात्रामा साझेदार बन्न विदेशी कम्पनीका लागि नेपालमा लगानीको अनन्त अवसर सिर्जना भएको उहाँको कथन थियो ।

होङसी शिवम् प्रालिका निर्देशक लाइ वेईपेङले परियोजनालाई हालको अवस्थामा ल्याउनका लागि बोर्डले खेलेको भूमिकाका लागि प्रशंसासहित धन्यवाद दिनुभयो । निजी क्षेत्रमा नै पहिलो पटक भएको यस खालको सम्झौताले अन्य साझेदारी लगानीको समेत अभिवृद्धि गर्ने सो अवसरमा जानकारी दिइयो । हङकङको रेड लायन शिवम् सिमेन्टसँग मिलेर होङसी शिवम् सिमेन्ट प्रालि स्थापना गरेको हो । लगानी बोर्डले अगाडि बढाएका केही ठूला परियोजनामध्ये जलविद्युत् आयोजनापछि यो नै ठूलो र महत्वपूर्ण हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !