१२ बैशाख २०८१, बुधबार

मंसिर १ गतेदेखि हस्तकला मेला तथा प्रतियोगिता हुने


कार्तिक १८, काठमाडौँ | नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर १ गतेदेखि ५ गतेसम्म १५औँ हस्तकला व्यापार मेला हुने भएको छ । महासंघले हिजो पत्रकारसम्मेलन गरी नेपालमा उत्पादित हस्तकला सामग्रीलाई स्वदेश तथा बिदेशमा प्रचारप्रसार गर्नका लागि १५औँ हस्तकला मेला तथा १३औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनी गर्न लागेको जानकारी दिएको हो । सम्मेलनमा महासंघका अध्यक्ष धर्मराज शाक्यले वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा हरेक वर्ष झैँ यस वर्ष पनि हस्तकला मेला आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
“नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउनु नै मेलाको प्रमुख उदेश्य हो,” उहाँले भन्नुभयो । हाल नेपाली हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपियन मुलुक, फ्रान्स, बेलायत, नेदरल्याण्ड, जापान, चीन, भारतलगायत ८० वटा मुलुकमा ५० भन्दा बढी थरीका हस्तकला सामग्री निर्यात हुँदै आएको छ । स्वदेश तथा विदेशमा नेपाली हस्तकलाका सामग्री झण्डै रु १० अर्ब बराबरको कारोबार हुने र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ११ लाख व्यक्तिले रोजगारी पाएको पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्ट, सुती, ढाका, जडीबुटी, अर्थोडक्स, चिया, पश्मिना, हाते कागज, प्राकृतिक रेशा, बाँसजन्य सामानका नौवटा प्याभिलियनसहित २०० कक्ष रहनेछन् । मेलामा १३औँ हस्तकला प्रतियोगितासमेत सञ्चालन गरिने भएको छ । हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रोलाई रु २० हजार पुरस्कार दिने आयोजकले जनाएको छ ।

मेलामा उत्कृष्ट स्टल तथा प्याभिलियन प्रतियोगिता, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शन, मेलामा प्रदर्शन गरिने हस्तकला वस्तुमध्येबाट उत्कृष्ट वस्तु प्रतियोगिता, अमूर्त संस्कृति प्रदर्शन र ‘बी टू बी’ बैठक हुने अध्यक्ष शाक्यले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !