६ बैशाख २०८१, बिहिबार

लगानीकर्ताले गुमाए ७ अर्ब ९४ करोड


कार्तिक १६, काठमाडौँ | बुधबार नेप्से परिसूचक ७ दशमलव शून्य २ अंक घटेको छ । नेप्से ओरालो लागेसँगै यस दिन लगानीकर्ताहरूले रू. ७ अर्ब ९४ करोड गुमाएका छन् । लगानीकर्ताको सम्पत्ति यस दिन घटेर रू. १७ खर्ब ७२ अर्बमा सीमित भएको छ । सूचीकृत कम्पनीहरू वित्तीय विवरण प्रकाशित गर्ने क्रममा रहेका छन् । हालसम्म प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीहरूले पहिलो त्रैमासमा खासै प्रगति गरेको देखिँदैन ।
कम्पनीहरूले आर्जन गरेको नाफाले लगानीकर्ताको मनोबल बढाउन सकेको छैन । फलस्वरूप नेप्से परिसूचक ओरालो लागेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से कारोबार अवधिभर उकालो लाग्न सकेन । १ हजार ५ सय ३३ बिन्दुबाट सुरु भएको बजार अन्तिम सयमसम्ममा शून्य दशमलव ४६ प्रतिशत घटेर १ हजार ५ सय २६ दशमलव ५१ बिन्दुमा पुगेको छ ।
‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ८५ अंक घटेर ३ सय २० दशमलव ५३ बिन्दुमा पुगेको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ४१ दशमलव ३४ स्केलमा पुगेको छ । न्यूट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । बुधबार १ सय ५९ कम्पनीका ५ हजार ४ सय ५६ पटकको कारोबारमा रू. ४२ करोड २६ लाख बराबरको १० लाख ३१ हजार ८ सय ३२ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका १ सय ५९ कम्पनीमध्ये ३० कम्पनीको सेयरमूल्य बढेको छ भने १ सय १४ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १५ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।
राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर यस दिन पनि सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीको यस दिन रू. ३ करोड १० लाखभन्दा बढी संस्थापक सेयर खरिद–बिक्री भएको छ । मल्टिपर्पोज फाइनान्स कम्पनीको सेयरमूल्य यस दिन पनि करिब १० प्रतिशत बढेको छ । जलविद्युत् लगानी तथा विकास कम्पनीको सेयरमूल्य भने यस दिन ५ दशमलव ३८ प्रतिशत बढेको छ । ८० प्रतिशत हकप्रद सेयरपछिको समायोजन मूल्य तोकिएको भार्गव विकास बैंकको सेयरमूल्य यस दिन ७ दशमलव २९ प्रतिशत घटेको छ । पहिलो त्रैमासमा खुद नाफा ऋणात्मक रहेको सहयोगी विकास बैंकको सेयरमूल्य भने यस दिन ६ दशमलव ४२ प्रतिशत घटेको छ ।
उत्पादनमूलक समूहको परिसूचक यस दिन शून्य दशमलव ९७ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशत बढेको छ । विकास बैंक समूहको परिसूचक यस दिन शून्य दशमलव ७३ प्रतिशत घटेको छ । विकास बैंक समूहबाट अलग्गिएको लघुवित्त कम्पनीहरूको नयाँ समूह यस दिन शून्य दशमलव ७ प्रतिशत घटेको छ । त्यसैगरी, बिमा समूहको परिसूचक शून्य दशमलव ५९ प्रतिशत, वित्त समूहको शून्य दशमलव ५ प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव ४९ प्रतिशत, होटेल समूहको शून्य दशमलव ४१ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव ३८ प्रतिशत घटेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !