१२ बैशाख २०८१, बुधबार

गिरिराजमणि पोखरेल : पत्रकारदेखि शिक्षा मन्त्रीसम्मको यात्रा


Girirajmani Pokhrel

पृष्ठभूमि र जन्म

पत्रकार पृष्ठभमिबाट राजनीतिमा प्रवेश गरेका गिरिराजमणि पोखरेलले ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट शिक्षा मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् ।

माओवादीको प्रमुख सचेतक समेत रहिसकेका पोखरेल अविवाहित नेता हुन । पोखरेलको जन्म बि.सं. २०१५ साल माघ २४ गते खोटाङ्ग जिल्लाको खार्पा–६ मा भएको हो भने हालको स्थायी बसोबास बर्दिबास नगरपालिका, वार्ड नं.३, गौरीडाँडास्थित आधारशिला सामुहिक वस्तीमा रहेको छ । उनका बाबुको नाम चन्द्रमणि पोखरेल र आमाको नाम कनककुमारी पोखरेल हो ।

२०२६ सालमा विख्यात साहित्यकार बितेका पारिजात, समालोचक निनु चापागाईं, लेखक–संगीतकार–गायकहरु रामेश, रायन, मञ्जुललगायतले चलाएको बिद्रोही साहित्यिक–साङ्गितिक अभियान ‘राल्फा’बाट प्रभावित बनी २०३६ सालबाटै बिद्यार्थी आन्दोलनमा सक्रिय सहभागी बनेका उनले त्यतिखेरबाटै साम्यवादी बिचारधारालाई अङ्गालिसकेका थिए । साम्यवादी आदर्शलाई अङ्गालेको २३ वर्षपछि उनले २०५९ सालमा साम्यवादी समाजको भ्रूणको रुपमा कम्युन निर्माण गर्ने दिशान्मुख सामुहिक वस्ती सुरुका लागि ‘आधारशिला’ सामुहिक वस्तीको स्थापना गरे । क्रान्तिकारी आन्दोलनमा लागेका १६ परिवारलाई आ–आफ्नो सम्पत्ति एकै ठाउँमा जम्मा गरी निर्माण गरिएको उक्त आधारशिलामा नै उनले जीवनका १५ वर्ष बिताइसकेका छन् । आम जनताका समस्याहरुलाई मसिनोसँग हेर्ने र त्यसलाई समाधानका लागि जनपरिचालन गर्न उच्च सिप हासिल गरेका मन्त्री पाखरेललाई उनी बस्ने सामुहिक वस्ती ‘आधारशिला’ रहेको क्षेत्र अर्थात् महोत्तरी क्षेत्र नं.१ का जनताले तीन पटक निर्वाचनमा जिताइसकेका छन्, २०६४ सालको संविधानसभा सदस्य निर्वाचन, २०७० सालको संविधानसभा सदस्य निर्वाचन र २०७४ सालको संघीय संसदको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा । उनी २०६४ र २०६५ मा स्वास्थ्य मन्त्री बनेका थिए भने २०७२ सालमा शिक्षा मन्त्री । र, पुनः हाल उनी शिक्षा मन्त्री बनेका छन् ।

शिक्षा र अनुभव

मन्त्री गिरिराजमणि पोखरेल माओवादीका बौद्धिक एवं कुशल संघठक मानिन्छन् । खोटाङकै बुइपास्थित चम्पादेवी माविबाट माध्यमिक र विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका थिए । उनले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । राजनीतिमा सक्रिय रहँदारहँदैकै स्थितिमा पनि गिरिराजमणि पोखरेलले एक समय पत्रकारितामा पनि क्रियाशील बने । उनले २०४१ साल यता बिभिन्न काल खण्डमा मूल्याङ्कन साप्ताहिक, बिलौना साप्ताहिक र गर्जन साप्ताहिकमा आवद्ध भई काम गरे भने २०५२ देखि २०५७ सालसम्म जनएकता साप्ताहिकका सम्पादक/प्रकाशक भई काम गरे । उनले ‘संघियता बारे’, ‘जनवादी केन्द्रीयता बारे’ र ‘भारतीय सेना कुटियाङ्दी पारी जा’ शिर्षकका राजनीतिक पुस्तकलगायत दर्जनौं सङ्ख्यामा समसामयिक राजनीतिक लेख रचनाहरु लेखी प्रकाशित गरेका छन् ।

राजनीतिक यात्रा

तत्कालीन जनमोर्चा नेपालमा रहेका उनी पार्टी एकीकरणसँगै माओवादीमा छन्। नारायणकाजी श्रेष्ठसँगै माओवादीसँग पार्टी एकतामा आएर पटक-पटक मन्त्री पद पाउने भाग्यमानी’ नेताका रुपमा उनी चिनिन्छन् ।

१.  २०३७ सालदेखि राजनीतिमा प्रवेश ।

२.  २०६२/६३ को जनआन्दोलन लगत्तै माओवादी शान्ति प्रक्रियामा आएपछि  ०६४ बैशाखमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा पहिलो पटक पोखरेल स्वास्थ्यमन्त्री बनेका ।

३.  २०६५ भदौमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा पोखरेल स्वास्थ्यमन्त्री बनेका ।

४.  केपी ओली सरकारको नेतृत्वमा भने शिक्षामन्त्री भएका ।

५.  अहिले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको ।

६.  नेकपा (माओवादी केन्द्र)का सचिव समेत रहिसकेका ।

७.  नेकपा (माओवादी केन्द्र) को प्रमुख सचेतक समेत रहिसकेका ।

विदेश भ्रमण

बेलायत, चीन, भारत, भुटान, थाइल्याण्ड, फ्रान्स, स्वीटजल्याण्ड, बेल्जियम, घाना, माली र इथियोपिया सहित एक दर्जन देशहरुको भ्रमण ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !