८ बैशाख २०८१, शनिबार

को हुन् त्रिलोचन भट्ट ?


Trilochan Bhatta

पृष्ठभूमि र जन्म

प्रदेश नं ७ को मुख्यमन्त्री, नेकपा माओवादी केन्द्रका नेता हुन् त्रिलोचन भट्ट । ४८ वर्षीय त्रिलोचन भट्टको स्थायी ठेगाना डोटी जिल्लाको साविक भूमिराजमाडौं गाविस वडा नम्बर–८ फलेडी हो । उनी बुवा प्रसाद भट्ट र आमा शारदा भट्टको साहिँलो छोरा हुन् ।

निम्न आयस्रोत भएको परिवारमा जन्मेका त्रीलोचनले गरीबीकै कारण ८ कक्षाको पढाई छोडेर १४ बर्षमै भारत पसेका थिए । उनी मुम्बईको एक जापानी कम्पनीमा काम गर्न पुगेका थिए । वि.सं. २०४७ सालमा अखिल भारत नेपाल एकता समाजको सदस्यबाट राजनीति सुरु गरेका भट्ट २०७१ देखि माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटब्यूरो सदस्य रहेका छन् । बाम गठवन्धनको तर्फबाट डोटी प्रदेश सभा निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदबार योगेन्द्र शाहीलाई २७ सय भोट अन्तरले हाराउदै बिजयी भएर मुख्य मन्त्री बन्न सफल भएका छन् ।

राजनीतिक यात्रा

उनले वि.सं. २०४७ सालमा अखिल भारत नेपाल एकता समाजको सदस्यबाट राजनीति सुरु गरे । उनी मुम्बईमा रहेको प्रवास कमिटीको कोषाध्यक्षसमेत रहे ।

माओवादी युद्धको तयारी तथा प्रवासबाट गरिने विभिन्न व्यवस्थापकीय पक्षमा सहयोग गरेका भट्टले २०५६ सालमा कम्पनीको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिए ।

२०५६ पछि उनी प्रवासबाटै जिल्ला कमिटी डोटीको सदस्य तथा क्षेत्रीय ब्यूरो सदस्य रहे । २०५८ सालमा उनले मुम्बईको नेपाली जनअधिकार सुरक्षा समितिमा रहेर काम गरेका थिए । २०६१ सालमा पार्टीले उनलाई नेपाल बोलाएपछि उनी नेपाल फर्किएर भूमिगत भएर काम गर्न थाले ।

२०६२ सालमा माओवादीको डोटी जिल्ला सचिव रहेका त्रिलोचन भट्ट २०६३ मा डोटी जिल्ला सहइन्चार्ज भएर काम गरे । २०६४ मा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका उनी २०७१ देखि माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटब्यूरो सदस्य रहेका छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नं १ बाट चुनाव लडेका भट्ट २०७० सालमा दोश्रो संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नं २ बाट चुनाव लडेका थिए । दुबै निर्वाचनमा हार ब्यहोरोका भट्ट यस पटक बाम गठवन्धनको तर्फबाट डोटी प्रदेश सभा निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदबार योगेन्द्र शाहीलाई २७ सय भोट अन्तरले हाराउदै बिजयी भएका हुन् । हाल त्रिलोचन भट्टले प्रदेश नं ७ को मुख्यमन्त्रीको जिम्मेवारी समलिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !