११ बैशाख २०८१, मंगलबार

को हुन् प्रदेश पाँचका मुख्यमन्त्री ?


Sankhar Pokharel

पृष्ठभूमि र जन्म

नेपाली बामपन्थी आन्दोलन र राष्ट्रिय राजनीतिमा स्थापित नेता हुन् शंकर पोखरेल । विक्रम सम्वत २०१९ फागुन १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा केशवराजशर्मा र तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्मिएका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटी सदस्यका रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययन गर्दा उनले प्रवासी नेपाली विद्यार्थीहरुको नेताको रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेले । नेता पोख्रेलले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहन गरे । जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरे । त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पूरा गरेका पोखरेल भूराजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुन् । पोखरेलकी श्रीमती एमाले नेतृ सुजिता शाक्य हाल एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिव हुन् । उनका दुई छोरी छन् ।

कला र साहित्य

पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् । उनले साहित्य सिर्जनातर्फ पनि उत्तिकै सक्रियताका साथ कलम चलाउँदै आएका छन् । पोखरेलले युगलहर, सिमानापारिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प लगायत पत्रिका र साहित्यिक रचना संग्रहरुको सम्पादन पनि गरेका छन् । एक्काइसौ शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादनमा समेत उनको नेतृत्वकारी भूमिका रहेको थियो । केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उनले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादकको जिम्मेवारी समेत बहन गरेका थिए ।

राजनीतिक यात्रा

२०३६ सालको विद्यार्थी आन्दोलन, २०४५/४६ मा पञ्चायती ब्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका पोखरेलले २०६२/६३ को जनआन्दोलनमा काठमाडौंको मोर्चावाट आन्दोलनको नेतृत्व गरेका थिए । गणतन्त्रको पक्षमा त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको उनी प्रमुख वक्ता थिए ।

नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरुमध्ये एक हुन् ।

अघिल्लो संविधानसभामा राज्य पुनर्संरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेलेका पोख्रेल ३२ वर्षको उमेरमा पहिलोपटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । नेकपा एमालेको स्थायी कमिटी सदस्य, पार्टी स्कुल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । हाल पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीको भूमिका निर्वाह गरिरहेका पोखरेल दाङको क्षेत्र नम्बर २ (क) मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !