६ बैशाख २०८१, बिहिबार

पँहेलो घर


saroj-marashini

पँहेलो घर। साँच्चै नामजस्तै पँहेलो थियो घर। घरका भित्ता, झ्याल, ढोका र चर्पिसमेतमा पँहेलो रङ पोतिएको थियो। झ्यालका पर्दा पँहेलै थिए। घरको प्रवेशद्वारमाथिपट्टि पँहेलो अक्षरमै लेखिएको थियो-पँहेलो।

त्यो दिन जतिबेला मेरा पाइलाहरु त्यहि पहेलो घरभित्र छिरेका थिए,मनमा कौतुहलता थियो पँहेलोको रहस्यप्रति। उनि अघिअघि थिए र म उनका पाइलाहरु पच्छाउँदै थिएँ।
“यो हो मेरो घर”- उनले पहिलो तल्लाको एउटा ठुलो कोठाको ढोका खोल्दै भने। हामि भित्र पस्यौँ। मैले कोठा नियाल्न थालेँ। कोठा अत्यन्तै ठुलो थियो। विभिन्न सरसामानले कोठा भरिभराउ थियो। यो कोठा मात्र नभएर पँहेलो घरभित्रको संसार थियो। कुनै पनि वस्तुको ठाउँ तोकिएको थिएन। एत्रतत्र छरिएका थिए। कलङ्कीको भाटभटेनिलाइ अत्यन्तै अव्यवस्थित गराउँदा बन्न सक्ने आकृतिलाइ यो कोठासँग तुलना गरेँ।

पठनपाठनसँग सम्बन्धित सामग्रिहरु धेरै थिए। नेपालि, नेवारि, अङ्ग्रेजि र चाइनिज जस्ता देखिने किताबहरुल कोठाको धेरै भागमा छरिएका थिए।एउटा कुनामा ग्यास चुल्हो राखिएको थियो। चुल्हो राखिएको टेबलमा केहि किताबहरु समेत चाङ लगाएर राखिएको थियो। यस्तो लाग्यो त्यो चुल्हो प्रयोग गर्नका लागि होइन।

आफ्नो कुर्सिमा बसि कम्प्युटर खोल्दै उनले मलाइ बस्न आग्रह गरे। नजिकै रहेको सोफामा बस्दै त्यहाको संसार नियाल्दै थिएँ। अगाडिपट्टिको 32 इन्चको परानो जमानाको आवाजविहिन टेलिभिजनमा चित्रहरु दौडिरहेका थिए। हामि कोठामा छिर्नु अगाडि नै त्यो खुलिसकेको थियो। लाग्यो टिभि कहिले बन्द हुँदैन।

सोफाको छेउमा बिस्तारा थियो,सिङ्गल बेडको। सिरक पट्याइएको थिएन। 2/4 ओटा कपडा बिस्तारामाथि थिए। मेरो आखाले सिरानी पत्ता लगाउन सकेन। बेडको छेउँमा कपडा झुन्ड्याउने बेतको ह्याङ्गर पल्टिएको थियो।
उनले फ्यान अन गरि चुरोट सल्काउँदै फ्रिजतर्फ इसारा गर्दै मलाइ चिसो पिउन आग्रह गरे। फ्रिजमा कोक, फेन्टा र केहि टुबोर्ग बियर थिए। मैले दुइओटा कोक झिकेँ।

“सरोज भाइ के गर्नुहुन्छ काठमाडौमा?” मोटामोटि परिचय अगाडि नै भैसकेको थियो। भर्खर एम एस्सि सकि विश्व निकेतन कलेजमा पढाउँदै गरेको जानकारि गराएँ। “म पनि शिक्षक हुँ। जापनिज भाषा पढाउँछु। शिक्षक हुनुजस्तो महान कार्य यो संसारमा केहि छैन।”- शिक्षण पेशाप्रति गर्व गर्दै उनले भने। नेपालमा शिक्षण पेशाको हुनुपर्ने जति सम्मान नरहेको गुनासो गर्दै म पनि उनको कुरामा सहमत भएँ। यतिञ्जेल सम्म ति चाइनिज जस्ता देखिने किताब जापनिज भैसकेका थिए।

म तपाइलाई अंकल भन्छु। अङ्कल भन्नु पर्दैन दाइ भन्दा हुन्छ। उनि निकै जोडले हाँसे। उमेरले 50 बसन्त पार गरेका उनि 40 वर्षका देखिन्थे। उनको आसय बुझ्दा लाग्यो अरुको नजरले उनलाइ अरुले 25/30 वर्षे जवान देखुन।

तपाईको दिनचर्या र घरपरिवारको बारेमा जान्न मन लाग्यो अंकल- मैले उत्सुकता व्यक्त गरेँ। अर्को एउटा चुरोट सल्काउँदै उनले सुरु गरे- मेरो खास घर च्यासलमा छ। घरमा क्ष्रिमती, छोरा र छोरि छन। म पन्ध्र वर्ष जापान बसेको थिए। पछिल्लो दश वर्षदेखि पहेलो घर मेरो नियमित अफिस जस्तै भएको छ। साँझ 7 बजेदेखि बिहान 7 बजेसम्म परिवारसँगै हुन्छु र बाँकि समय पँहेलो घरमै। बिहान साँझ जापनिज भाषा पढाउँछु र दिनमा संसारको अध्ययन गर्छु। मलाइ समाजको सेवा गर्न मन पर्छ। स्वच्छ र सभ्य समाजको निर्माण गर्ने चाहना छ। दुख परेको बेलामा मैले अरुको धेरै सेवा गरेको छु। प्राकृतिक प्रकोपमा मानवीय र आर्थिक सहयोग गरेको छु। विपदमा राहत बाँडेको छु। मैले रोपेका हजारौँ बिरुवाहरुले अहिले धेरै ठाउँमा शितलता दिइरहेका छन।

उनको लामो कुराले केहिबेर गम्भिर बनायो। उनकै कारण धेरै विपन्न वर्गले उपचार पाएका रहेछन। भविष्यमा सडक बालबालिकाको उचित व्वस्थापन र आर्थिक रुपमा पछि परेकाहरुको लागि निशुल्क उपचार गर्न अस्पताल खोल्ने उनको सोचले मेरो मन छोयो। मानिसहरुको विलासि र तडकभडक जीवनशैली प्रति उनको गुनासो रहेछ।

मैले सुरुदेखि नै उत्सुकता रहेको पँहेलो को रहस्य जान्ने इच्छा राखेँ। उनले अर्को चुरोट सल्काउँदै सुरु गरे। जापान बसाई सकि नेपाल फर्केपछि मलाइ यहाको अस्तव्यस्त र स्वार्थि समाज देखेर दिक्क लाग्यो। विलासि जीवनशैलीका लागि लाखौँ खर्च गर्न सक्नेले अरुलाइ आपत पर्दा एक कौडि सहयोग गर्दैन। करोडौको गाडि चढ्नेले आफ्नो समाजका लागि के योगदान गरे त? वास्तवमा करोडौ, अर्वौ सम्पति हुनेहरु नै गरिव रहेछन। उनिहरुलाइ पैसाले कहिले पुग्दैन। जसरि एउटा भिक्षु सांसारिक मोहबाट उदेक लागेर पँहेलो वस्त्र धारण शान्त रहन्छ त्यसरि नै यो समाज सभ्य, शान्त र परोपकारि रहदैन तबसम्म यो घरलाइ पँहेलो रङले सजाउने अठोट लिएको छु। जुन दिन समाज सभ्य र सुन्दर हुनेछ, वातावरण हरियालि र स्वच्छ हुनेछ र मानिस आफ्नो लागि कम र अरुको लागि ज्यादा महत्वको हुनेछ त्यो दिन पँहेलोको ठाउँमा हरियो रङ लगाउने छु। तर मलाइ डर छ कतै मेरो घर सधै पहेलो नै रहने त होइन?

म केहिबेर शब्दबिहिन रहेँ। उनका कुराले भावनात्मक बनायो। मैले म पनि समाजको सेवा गर्न चाहेको कुरा व्यक्त गरेँ। उनले मेरा कुरामा कुनै दम नरहेको ठान्दै भने- समाजसेवा आवेशमा आएर, भावनामा वहेर गरिने विषय होइन। समाजसेवा गर्न निकै कठिन छ। सहनशील हुन आवश्यक छ। मानिसका गालि र आरोप स्विकार्न सक्नुपर्छ। अनि त्याग गर्न सक्नुपर्छ। म स्तब्ध भएँ।

साँझ कोठामा फर्कदासम्म मेरो दिमागमा पँहेलो घर भित्रको रहस्यमय कुराहरु नाचिरहेको थियो।किनकिन कृष्णअंकल अलि अनौठो मानिस जस्तो लाग्यो। सानुको फोन कतिबेला आएको रहेछ पत्तै भएन। भोलि मलमा मुभि हेर्ने र K. F. C. मा खाजा खाने भन्ने मेसेजको जवाफ नै थिएन मसँग।

खाना खाइसकेपछि ल्यापटप खोलेँ। जापनिज गित बजाउन थालेँ,तर बुझ्ने भएर होइन। मोबाइल स्विच अफ थियो। मनमा धेरै कुराहरु खेलिरहेका थिए। अंकल एक अजिव प्राणिको रुपमा दिमागमा घुमिरहेका थिए। मलाइ अंकलका योजनामा साथ दिने मन थियो। पँहेलो घरलाइ हरियो बनाउने उनको चाहना पुरा भएको हेर्ने मन थियो।

बत्ति निभाएर विस्तारामा पल्टिएँ। निद्रा लागेन। केहि बेर निद्रा नलाग्ने संकेत थियो। उठेर कुर्सिमा बसेँ। पँहेलो घरभित्रको अनौठो संसारको बारेमा केहि लेख्न मन लाग्यो। गजलहरुले आधा भरिएको डायरि र कलम निकालेँ। डायरिको अन्तिम पेज पल्टाएँ। कस्तो लेख लेख्ने र के शिर्षक दिने भन्ने बारेमा निकै बेर सोचेँ। अन्तमा एउटा उपन्यास लेख्ने निर्णय गरे। र शिर्षक दिएँ “पँहेलो घर”।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !