७ बैशाख २०८१, शुक्रबार

बिजुली यन्त्र, प्रेम दिवस र बाँकी ३६४ दिन


प्रेम दिवस

प्रणय दिवसको दिन बिजुली यन्त्र अर्थात बिजुलीको शक्तिबाट चल्ने कम्प्युटर अनि मोबाइल फोनको राम्रै सदुपयोग हुन पुगेको छ । इन्टरनेट मार्फत चल्ने विविन्न सामाजिक संजाल विशेषगरी फेसबुक खोली हेर्दा सामाजिक संजाल प्रयोगकर्ता चकित अनि हर्सित भएका छन् । बिगत बर्ष भन्दा यस बर्ष नगन्य संख्यामा विवाहित, नवविवाहित अनि अविवाहित जोडीहरुले जोडतोडका साथ अपलोड गरेको जोडी तस्बिर हेर्दा हेर्दा औंला दुखेको र समय वितेको थाहै हुन्न ।

अस्ति मात्र ‘म तँ संग डिभोर्स गर्छु !’ भन्दै अण्डा पकाउने ताप्केले आफ्नो श्रीमानको तालु खुइलेको टाउकोमा ताक्ने मेरो घर पारीकी भाउजुले बिहान मात्रै आफ्नो श्रीमानसंग तीजमा छम छमी नाच्दा लगाउने रातो साडीमा ठाँटिएर सेल्फी खिचिकन फेसबुकमा अपलोड गर्न भ्याइ सक्नु भएछ । केहि दिन अघि मात्र ‘तँ जड्याहाको घरमा बस्दिन म, माइत जान्छु आजै’ भन्दै राति कौसीबाट  चिच्याएर गाँउले हसाउने एक छिमेकी दिदीले त सुंगुरे ओठमा आफ्ना पतिसँग सेल्फी खिचिकन फेसबुकमा अपलोड गरिसक्नु भएछ । त्यस्तै ‘मलाइ तेरो मतलव छैन निस्की तँ !’ भन्दै श्रीमतीलाई चार मुड्की च्युरा दिने एक जना अल्लारे भाइले पनि आफ्नी अर्धांगिनीलाइ विहानै सिनेमा देखाउन लगेछन र सिनेमा हलकै गेटमा गाला जोडीकन तस्बिर खिचाई फेसबुक सजाएछन् । झगडा नगर्नेको त कुरै छाडौं।

बिदेशमा रहेका हाम्रा दाजुभाई अनि दिदीबहिनीहरुले पनि पहिले खिचेको आफ्नो जोडीसंगको तस्बिरले फेसबुक पोतेको देखियो । असंख्य त्यस्ता तस्बिर हेर्दा हामी सबैको मन प्रफुल्लित भएको छ किनकि यो दिनले तिक्तता र घुस्सा घुस्सिलाई घुलाइदिएको छ, हिमपातको चपेटामा परी नाङ्गो रुखको हाँगोमा रातभरी थुरथुर काम्दै बेलुका अस्ताएको घामको  बिहानी झुल्काइ  ढुकि बस्ने पन्छीले नयाँ घामको झुल्काइवाट आनन्दित भएझै आनन्दमय छन सबै जोडीहरु । वाताबरण नै  प्रेम मय भइरहेछ । आखिर कहिलेकाईको खट्पट खासै केहि होइन रहेछ र  खट्पटमा पनि प्रेम लुकेर बसेको हुन्छ भन्ने तथ्य सिद्ध भएको छ ।

प्रेमको परिभाषा दिन म पूर्ण रुपमा समर्थ छु भन्नु गलत हुन जान्छ किनकि विभिन्न विद्वानहरुले आफ्नै आफ्नै परिभाषा दिएका छन् प्रेमको । जे भएपनि जहाँ प्रेम छ त्यहाँ ‘हिंसा’ सुन्य हुने रहेछ । त्यसैले प्रेम भनेको मानिसलाई पटक्कै फाइदा नगर्ने हिंसाको उल्टो चिज भएकोले यो बढो आवश्यक रहेछ जुन प्राकृतिक रुपमै आफसे आफ मानिस मात्रै नभएर जन्तु, पन्छी, किरा फट्यांग्रा र सबै प्राणीमा अद्भुत तरिकाले आफै उत्पन्न हुने रहेछ ।

मान्छेले प्रेमको महत्वलाई बुझेर पनि बुझ पचाइ आफ्नो चेतन मनलाई मारी अवचेतन मन र इन्द्रियलाइ गुरु बनाई हिस्रकतातर्फ उन्मुख हुँदा संसारमा कयौं युद भए । केवल प्रेमभावको कमीले । अन्तरआत्मा देखि नै प्रेम भावको इछ्या जगाई बुद्ध भगवान, रजनिस अनि विभिन्न विद्वान र दार्शनिकहरुले दिएका उत्कृष्ट विचार ग्रन्थहरुले प्रेमलाई प्रष्ट बनाउन सघाउने देखिन्छ ।

सामाजिक संजालमा देखिएको प्रेममय तस्विरहरु एक दिनको लागि मात्र कायम नहोस बाँकी ३६४ दिनै कायम रहोस । दैनिकको तनाव र भागदौडले भड्किन पुगेको मनलाई सम्हाल्न धेरैलाई गह्रोनै हुन्छ र एकजनामा क्रोध उत्पन्न हुँदा त्यहाँ तनावको सिर्जना हुने हुन्छ । त्यतिखेर दोश्रोले तुरुन्त हिस्रक प्रतिक्रिया दिनुको साटो पहिलो व्यक्तिको मनस्थिति भुझ्न खोज्नु फाइदाजन देखिन्छ । सबैमा सधैं प्रेम जागृत भइरहोस् । जय प्रेम दिवस । सबैलाई शुभकामना !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !