१३ बैशाख २०८१, बिहिबार

श्रमिक दिवस मनाइँदैमा मजदुरले पाउँलान् त उचित पारिश्रमिक


May 1
ram
राम मगर

आज १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर विभिन्न कार्यक्रमगरी मनाइएको छ । देशभरका श्रमजीविहरु श्रमिक दिवस मनाउनलाई व्यस्त छन् । अझै हेर्ने हो भने हाम्रो देशका राजनीतिक दलका पार्टीका प्रतिनिधिहरु वढीमात्रामा विभिन्न कार्यक्रमको सभापतित्व ग्रहण गर्दै श्रमिक दिवसको वारेमा भाषण गर्न व्यस्त छन् । जतिसुकै भाषण गरेता पनि मजदुरहरुले उचित पारिश्रमिक पाउन सकेका छैनन् । श्रमजीवीहरु आज श्रमिक दिवसको अवसरमा विभिन्न जुलुस, आन्दोलनहरु गरेर सडकमा उत्रिएका पनि छन् । श्रमजीवीहरु आफ्नो हक हितको लागि आफ्नो अधिकार खोज्दै सडकमा उत्रिएका हुन् ।

विभिन्न श्रमिक संघसंस्थाहरुले धेरै पहिला देखि जुलुस, आन्दोलनहरु गर्दै आफ्नो एजेण्डाहरु उठाउंदै आएता पनि अझैसम्म पुरा हुन सकेको छैन । दिनभरी पसिना बगाएर सडकमा काम गर्ने एउटा मजदुरको कदर छैन । सम्मान छैन । काम गरे वापत उनीहरुले पाउने पारिश्रमिक पनि राम्रोसँग पाइरहेका छैनन् । कहिले सम्म हाम्रो देशमा एउटा मजदुरको उचित पारिश्रमिक होला ? कहिले होलान् त श्रमको सम्मान ? कहिले होला मजदुरको कदर ? कुनै कार्यक्रममा भाषण गर्दै जनताको हक र हितको लागि मरिमेट्न पनि पछि हट्ने छैन भन्दै जनतालाई झुटो आस्वासन देखाएर कहिलेसम्म टिक्लान त देश चलाउने नेताहरु ?

श्रमिक दिवसको इतिहास हेर्ने हो भने, सन् १८८६ मा अमेरिकाको सिकागोवाट यो दिवसको शुरु भएको हो । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन सुरु गरेको हो । अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गरियो । प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो ।

नेपालमा विराटनगरमा वि.सं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो । विगतको वर्षमा झै यस वर्ष पनि नेपाल ट्रेड युनियन महासंघ जीफन्ट, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्रलगायतका मजदूर संगठनले सभालगायत विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएका छन् ।

श्रमिक दिवस मनाइँदैमा र कुनै कार्यक्रममा भाषण गर्दै जनताको हक र हितको लागि काम गर्छु भनेर कुरामा मात्र सिमित हुनु भएन । एउटा मजदुरको सम्मान हुनुपर्छ उचित श्रमको सम्मान हुनुपर्छ । जस्तोसुकै मजदुर किन नगरोस् । सम्मान श्रम हुनुपर्छ । देशका आम युवाहरुलाई देशमै रोजगारको सुविधा मिलाइदिनु पर्छ । पराइ भूमिमा रातदिन पसिना वगाउन नपरोस् । देशका जनताको उचित सम्मान होस् । उचित पारिश्रमिकको ग्यारेन्टी होस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !