८ बैशाख २०८१, शनिबार

वाङ्मय शताब्दी पुरुष जोशी राष्ट्रको अमूल्य र साझा नीधि : राष्ट्रपति भण्डारी


भदौ ३०, काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रको अमूल्य र साझा नीधि भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । राष्ट्रिय सभा गृहमा आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जोशी राष्ट्रको अमूल्य र साझा नीधि भएको बताउँदै सम्मानित जोशी जीवित ज्ञानकोष भएको बताएकी हुन् ।

जोशीलाई राज्यले वाङ्मय शताब्दी पुरुषको उपाधिले विभूषित गरेकोप्रति उनले खुशी ब्यक्त गर्दै अभिनन्दन राष्ट्रिय गौरवको कार्य भएको बताएकी छन् । काठमाडौं महानगरपालिकाको सहयोग र समाजसेवी लक्ष्मीदास मानन्धरको संयोजकत्वमा आयोजित उक्त समारोहमा राष्ट्रपति भण्डारीले करिब ५ फिटको कलात्मक अभिनन्दन–पत्र जोशीलाई प्रदान गरेकी छन् । साथै, यसअघि नेवार परम्पराअनुसार ‘संग’ (सगुन)समेत दिइएको थियो ।

सोही समारोहमा वाङ्मय क्षेत्रमा क्रियाशील ब्यक्तिलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी अक्षय कोष’को पनि स्थापना गरिएको छ । कार्यक्रममा पूर्व राज्यमन्त्री तीर्थराम डंगोलले शताब्दी पुरुष जोशीलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्न राष्ट्रपतिबाट पहल हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए ।

कवि दुर्गालालको रचना, गुज्य मालाकारको संगीत, सानुबाबु महर्जन, सतीष महर्जन, पवित्र कसा रत्नशोभा महर्जन, दीपा महर्जन र रानीशोभा महर्जनको स्वरमा जोशीप्रति समर्पित गीत पनि सुनाइएको थियो । जोशीलाई उनको निवास ललितपुर बखुंबहालबाट बाजागाजासहित पाटन दरवार क्षेत्रमा ल्याइएपछि मोटरसाइकल र्‍यालीकासाथ बसन्तपुर पुर्‍याइएको थियो । वसन्तपुरबाट नेपाली सेनाले बाजागाजा र झाँकीसहित उनलाई बग्गीमा राखेर समारोहस्थल सभागृह लगेका थिए ।सभागृहमा उनलाई नेवार परम्परागत पोशाकमा सजिएका महिलाहरुले पुष्पवृक्षासहित स्वागत गरेका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !