७ बैशाख २०८१, शुक्रबार

प्रेम


Kabita
Sabita Bista
सबिता बिष्ट

तिमी जितेर पनि

हारिदिने मान्छे !

मेरो भागमा खुशी

सारिदिने मान्छे !!

कसरी भुल्न सक्छु र म?

तिमीले लगाएको गुन

अह! सक्दिन म तिमीलाई

यो भिडमा एक्लै छोडन !

बिर्सिएर तिमीलाई

दोबाटोमा पाइला मोड्न !

त्यसैले प्रियतम नभनिदेउ

प्रिया मलाई भुलिदेउ भनेर

अह! यो हुनै सक्तैन !

हाम्रो प्रेम तुट्नै सक्तैन !

आकाश र बादल को झैँ

जून र ताराको झैँ

प्रगाढ सम्बन्ध बनाउनु छ

अझै मजबुत् बनाउनु छ

तिमी माथि ढलेको

स्वप्निल संसार

खडा गर्नुछ मलाई !!

 

हेरन ! त्यो उदाउँदो

सुर्येको लाली सँगै,

मेरा खुशीले भरिएका

सुनौला रङ्हरू

जतनले पोतेकी छु !

सजाएकी छु सपना

भुलेर सबै दु:खहरू,

फुलौला एकदिन साथमैँ

मेरै खुशीको लागि

हारिदिने मान्छे तिमी

तिम्रो खुशीको लागि म

संसार जित्न चाहन्छु !

मायाको गहिराई नापेर

खुशीको मुहान ल्याउछु

कदम कदम तिम्रो साथमा

हातमा हात राखेर !

लम्कौला जिन्दगीमा

सुनौला सपना साँचेर !

तोडौला एकदिन समाजको

कुरिति, कुसंस्कार अनि

जातभातका कुरा !

भत्काउँला समाजमा अवस्थित,

धनी र गरीब बीचको पर्खाल !

मलाई विश्वास छ ,

आउनेछ समय पक्कै !

हाम्रो पक्षमा

हाम्रो खुशी बोकेर !

उदाउनेछ भाग्य पक्कै,

चम्किलो रङ्हरू घोलेर !

 

धैर्य गर प्रियतम !

यो संसार बदलिनेछ

बम र बारुद बनाउने हातले

प्रेम गीत कोर्नेछन्

मानबीयता छाउनेछ

प्रेममय संसार बन्नेछ

प्रेमको जीत हुनेछ

अनि तिम्रो र मेरो जीत हुनेछ

मलाई पुरा बिस्वास छ

हाम्रो प्रेमको पालुवा

ध्रुब तारा झैँ  अटल,

अमर बनेर चम्किरहने छ,

अनन्त कालसम्म !!

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !