६ बैशाख २०८१, बिहिबार

पाल्पाको सत्यवतीमा चिच्याएर बर माग्न आउनेको भीड


कार्तिक १८, पाल्पा | तिनाउ गाउँपालिका–४, सत्यवतीमा चिच्याएर बर माग्ने धार्मिक मेला शुरु भएको छ । रातको समय चिच्याएर बर माग्दा पूरा हुने विश्वासका साथ अहिले मन्दिर क्षेत्रमा बर माग्नेको चहलपहल बढेको छ । सत्यवतीताल संरक्षण तथा मन्दिर विकास समितिको आयोजनामा शुरु भएको सत्यवती धार्मिक मेलामा रातीको समयमा चिच्याएर बर माग्नेको अहिले भीड लागेको छ ।
धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा महत्वपूर्ण रहेको यो मेलामा नेपाललगायत भारतीय क्षेत्रबाट समेत धार्मिक पर्यटकको ओइरो लागेको छ । रातको समय सत्यवती तालमा लिंगो गाडेर बिहान सोहि लिंगो चिनेर पूजा गर्ने चलन छ । रातमा पुगेर बिहानै सत्यवती बजैका मन्दिर छोडनुपर्ने धार्मिक मान्यताका कारण आफू दिउँसोमा मन्दिर नपुगेको तानसेनका कमल तिमिल्सेनाले बताउनुभयो ।
सत्यवती बजैले कानले नसुन्ने भएपछि चिच्याएर बर माग्ने गरिएको समितिका अध्यक्ष सुनवीर गाहाले बताउनुभयो । पहाडको टुप्पोमा मन्दिर र तालसमेत रहेको छ । ताल परिक्रमा गरी मन्दिरमा पूजा गर्दै आउने चलन छ । मन्दिरमा बजैलाई पूजा गरेपछि टीका, चुरा, साडी चोलीसमेत चढाउने चलन छ । सत्यवती बजैको लागि परेवा र बाख्राको बलि दिने चलन पनि छ ।
कात्तिक शुक्ल पूर्णिमा कात्तिक महिनामा परेमात्र यहाँ मेला लाग्ने गर्दछ । अघिल्लो वर्षको तुलनामा यो वर्ष मन्दिरमा पूजा गर्न आउनेको संख्या बढिरहेका छन् । विगत दुई दिनमा ५० हजार भन्दा बढीले मन्दिरको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । बिहान झिसमिसे उज्यालो नहँुदै मन्दिर परिसर छोड्नुपर्ने परम्परागत मान्यता रहेको सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिका अध्यक्ष गाहाले बताउनुभयो ।
प्रत्येक वर्ष कात्तिक शुल्क त्रयोदशीदेखि पूर्णिमासम्म सत्यवती तालमा धार्मिक मेला लाग्ने भएपछि पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलबस्तु र भारतबाट समेत यहाँ दर्शन गर्न आउने श्रद्धालुहरुको संख्या वर्षेनी बढ्दो छ । सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण रातमै चिच्चाएर बर माग्ने चलन छ । रातको समयमा हजारौंले मानिसले एकैपटक चिच्चाएर बर माग्दा जंगलको सुनसान रात गुञ्ज्यमान हुने गर्दछ ।
पाल्पा बुटवल सडक खण्डको चौबीस माइल र बुटवल क्षेत्रबाट आउनेले झुम्साबाट मन्दिर क्षेत्र जान सकिन्छ । करिब दुईदेखि तीन घण्टा उकालो हिँडेपछि रमणीय सत्यवती तालमा प्रकृतिसँग मनोरञ्जन लिन सकिन्छ । तिनाउ गाउँपालिका प्रमुख ओमबहादुर घर्तीले यो रमणीय प्रकृति ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !